सुर्खेत । जाजरकोट जीप दुर्घटनाको छानविन गर्न माग गर्दै जुनीचाँदे गाउँपालिका कार्यालयमा किरियापुत्रीले तालाबन्दी गरेका छन् । घटना सुनियोजीत तरिकाले घटाइएको भन्दै सत्यतथ्य छानवीन गर्न माग गर्दै उनिहरुले सदरमुकाम खलंगामा रहेको गाउँपालिकाको सम्पर्क कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
जुनीचाँदे गाउँपालिका वडा नं. ११ का मृतक वडाध्यक्ष अमरबहादुर शाहीका छोरा प्रकाश शाही, स्थानीय कृतिबहादुर शाहीका छोरा हेमराज शाही, कृष्णबहादुर शाहीका छोरा कालिबहादुर शाही लगायतले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
यही असोज २१ गते भएको जिप दुर्घटनामा मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइते नरबहादुर बुढाको सम्पूर्ण उपचार खर्च दिनुपर्ने, मृतक कर्मचारीका छोराछोरीलाई गाँस, बास, कपास र रोजगारीको व्यवस्था गरिनुपर्ने र मृतक परिवारका २५ जना सरदमुकाम आउँदा–जाँदा लागेको सम्पूर्ण खर्च स्थानीय तहले दिनुपर्ने लगायतका माग राखेका छन् ।
मृतकका आफन्तहरुले गाउँपालिकाको केन्द्र विवादका कारण जीप दुर्घटना पारेर सामूहिक हत्या गरिएको अरोप लगाएका छन् ।
दुर्घटनापछि स्थानीय तहका जनप्रतिनिधिहरु घटनास्थल नजानु, परिवारसँग भेटघाट र छलफल नगर्नुले थप संशकीत बनाएको कृतिबहादुर शाहीकी छोरी रेशमा शाही (खत्री)को भनाई छ ।
‘गाउँपालिकाको केन्द्र विवादकै कारण दुर्घटना गराइएको हो, अहिले जनप्रतिनिधि भागिरहेका छन्, चालक पनि पक्राउ गरिएको छैन’ उनले भनिन् । घटनापछि गाडी चालक गोरखबहादुर बस्नेत अहिलेसम्म फरार छन् ।
जुनीचाँदे गाउँपालिकाको केन्द्र वडा नं. ४ को लुहादह कि वडा नं. ३ को पराले भन्नेमा विवाद हुँदा सर्वाेच्च अदालतमा विचाराधीन छ ।
यस्तै मृतकका आफन्तहरुले गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य (बस्नेत), स्वास्थ्य शाखा संयोजक प्रेमबहादुर शाही, सहसंयोजक योगेश्वर बस्नेत, बेगमान भनिने सत्यनारायण बस्नेत र सवारी चालक गोरखबहादुर बस्नेतले जीप दुर्घटना गराएको आशंका गरेका छन् । शंकास्पद सबैको कल डिटेल हेरेर घटनाको छानविन गरिनुपर्ने माग समेत गरेका छन् ।
दुर्घटनामा मृत्यु भएका वडाध्यक्षसहितले गाउँपालिकाको केन्द्र लुहादह र कार्यवाहक अध्यक्ष पक्षले पराले पालिकाको केन्द्र हुनुपर्ने अडान राख्दै आएका थिए ।
यता जिल्ला प्रहरी कार्यालय जाजरकोटले जिल्ला र प्रदेश प्रहरीको टोलीले चालकको खोजी गरिरहेको जानकारी दिएको छ ।
त्यस्तै पिडीत पक्ष र गाउँपालिकाबीच छलफल भैरहेको छलफलमा सहभागी पत्रकार रेशमबहादुर खड्काले जानकारी दिए ।