काठमाडौँ । २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई सरकारी वार्ता टोलीले फेरि अनशन अन्त्य गर्न आग्रह गरेको छ ।
शिक्षा मन्त्रालयको लेटर प्याडमा विज्ञप्ति जारी गर्दै सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले मुलुक कोरोनाले आक्रन्त रहेको बेला अनशन अन्त्य गर्न अनुरोध गरेका हुन् । यो समेत सरकारले १९ औं अनशनमा रहेका डा. केसीलाई सरकारले तेस्रोपटक अनशन तोड्न आग्रह गरेको हो । यसअघि सरकारका प्रवक्ता प्रदीप ज्ञवाली र शिक्षा मन्त्रीले पनि अनशन अन्त्य गर्न आग्रह गरेका थिए ।
बिहीबार र शुक्रबार केसी पक्षसँग सरकारी टोलीले वार्ता गरेको थियो । वार्ताका क्रममा केसीका मागबारे सरकारको धारणा स्पष्ट पारिएको मैनालीले जनाए । चिकित्सा शिक्षा ऐन, नियमावली जारी भईसकेको, चिकित्सा शिक्षा आयोग बनेर एकीकृत प्रवेश परीक्षा, सिट निर्धारण, एकीकृत शैक्षिकसत्र र सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत छात्रवृत्ति लगायत नियमन सम्बन्धि व्यवस्था गरिएको विज्ञप्तिमा जनाइएको छ ।
गेटा मेडिकल कलेजको भवन निर्माण सम्पन्न भइसकेको जनाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पठनपाठनका लागि मूल्याङ्कन प्रतिवेदन प्राप्त भइसकेको सरकारी वार्ता टोलीले जनाएको छ । प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि बर्दिबास, बुटबल, सुर्खेतमा जग्गा प्राप्ति र गुरुयोजनाको काम भइरहेको तथा केसीको मागअनुसार अन्य ठाउँमा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन भइरहेको मैनालीले बताए ।

