काठमाडौं । प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेका छन् । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ ।
यसअघि शुक्रबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको मन्त्री केसीले बताए ।
नेपालको संविधानले प्रदेश राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ । प्रदेश सभाले स्थायी राजधानी र नामको बारेमा निर्णय गर्नका लागि कार्यदल गठन गरेको थियो ।
प्रदेश सभामा मन्त्री केसीले प्रस्ताव पेस गरेपछि केही सांसदहरूले भने विरोध जनाएका थिए ।
प्रदेश मन्त्रिपरिषद्को यो निर्णयसँगै प्रदेश ५ मा प्रदेश राजधानी रुपन्देही बनाउने कि दाङलाई बनाउने भन्ने विषयमा विवाद थियो । अब उक्त विवाद टुंगिएको छ ।
प्रदेश सभाको अर्को बैठक असोज १९ गते बोलाइएको छ ।