गाउँपालिकाको परिचय
साविकका ४ वटा गाविसहरु बेलपाटा, लाँकुरी, अवलपराजुल, डाँडापराजुल मिलेर बनेको दैलेखको डुंगेश्वर गाउँपालिका ६ वटा वडामा विभाजन छ ।
दुन, टार, चुरे र महाभारत श्रेणीमा पर्ने रमणिय वातावरणमा रहेको सुन्दर गाउँपालिकामा थोरै साधन र स्रोतको लगानीवाट गाउँपालिकाको, सामाजिक आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा बिकास हुन सक्ने सम्भावना रहेको छ । भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले विकासोन्मुख अवस्थामा यो गाउँपालिका रहेको छ ।
२०६८ सालको जनगणना अनुसार कुल १६ हजार ८ सय ८३ जनसंख्या रहेको यो गाउँपालिका भित्र बिभिन्न जातजातीहरुको बसोबास रहेको छ । कूल जमिनको ५३.९७ प्रतिशत अर्थात ५ हजार ६ सय ७७ दशमलब ५६ हेक्टर भुभाग वनजंगलले ढाकेको यस गाउँपालिका भित्र प्रशस्त मात्रामा खोलानाला रहेका छन् ।
मुख्यतया क्षेत्री र ब्राह्मण जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा ठकुरी, गुरुङ्ग , मगर, कामी, दमाईको बसोबास रहेको छ भने केही संख्यामा अल्पसंख्यक जाति गाइने र वादी जातिको पनि बसोबास रहेको छ ।
हिन्दु, इसाई, मुस्लिम, बौद्ध धर्मावलम्वीहरु रहेका छन । धार्मिक तथा सांस्कृतिक रुपमा डुंगेल मन्दिर, भैरव मन्दिर, नारायण मन्दिर रहेका छन् । प्राकृतिक स्रोत साधनको रुपमा पराजुलीखोला, कुईंया ताल, स्लेट खानी, बनजंगल रहेको छ ।
विकासका थुप्रै सम्भावना बोकेको यो गाउँपालिकाको अध्यक्ष पद नगेन्द्रबहादुर मल्लले सम्हालेका छन् । गाउँपालिकाको पूर्वाधार विकास पहिलो प्राथमिकतामा रहेको उनको भनाई छ । मल्ल भन्छन्, –‘आफ्नो कार्यकालभित्र जनतालाई आवश्यक पूर्वाधार पुर्याउँछु ।’ गाउँपालिकाको अध्यक्षमा मल्ल निर्वाचित भैसकेपछि उनले गरेका क्रियाकलापको सारसंक्षेप ः
चालू आर्थिक वर्षमै ९० प्रतिसत विद्युतीकरण
स्थानीय तह हुनु अगावै गाउँपालिकाका ३० प्रतिसत नागरिक विद्युतको पँहुचमा थिए । हाल ७० प्रतिसत नागरिकले विद्युत उपभोग गर्न पाइसकेका छन् ।
विद्युतीकरणका विभिन्न कामहरु जारी छ । चालू आर्थिक वर्षमा ९० प्रतिसत नागरिकलाई विद्युतको पँहुचमा पु¥याउने गाउँपालिकाको लक्ष्य रहेको छ ।
एक घर–एक धारा
स्वच्छ खानेपानीको हक प्रत्याभूति गराउन गाउँपालिकाका सबै नागरिकको पँहुच हुने गरी एक घर–एक धारा निर्माण गरिएको छ । सोही अनुरुप चालू आर्थिक वर्षमा थप आठ सय एक घरधुरीका लागि खानेपानी धारा जडान गरिदैछ ।
खरमुक्त छाना अभियान
खरको छाना भएका करिव दुई सय ५० घर गाउँपालिकामा रहेका छन् । तीमध्ये २४ घरलाई खरमुक्त छाना बनाइसकिएको छ । त्यसका लागि गतआर्थिक वर्षको विनियोजित रकममध्ये १० लाख खर्च गरिएको हो ।
बाँकी घरलाई खरमुक्त बनाउनका लागि चालू आर्थिक वर्षमा १८ लाख रकम विनियोजन गरिएको छ ।
विद्यालय सुधार कार्यक्रम
विद्यालय सुधारमा साझेदारी कार्यक्रम अन्र्तगत गाउँपालिकाले विभिन्न योजना कार्यान्वयनमा ल्याएको छ । सोही अनुरुप गाउँपालिकाका एक सय ६० जना गरिब तथा जेहेन्दार विद्यार्थीको पढाई खर्च पालिकाले व्यहोरेको छ ।
यसका साथै विद्यार्थीको अनुपातमा गाउँपालिकाले शिक्षक दरबन्दी सिर्जना गरेको छ । जसमध्ये करिब ४८ जना शिक्षक कार्यरत छन् ।
पालिकाका सबै छात्रा विद्यार्थीको लागि सहज रुपमा निःशुल्क सेनेटरी प्याड विरतण गरिएको छ । सेनेटरी प्याड वितरणमा सहजताको लागि प्रत्येक विद्यालयको कार्यालय सहयोगी महिलालाई नियुक्ति गरिएको छ ।
ज्येष्ठ नागरिकको घरमै उपचार
गाउँपालिकाका ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा प्रदान गरिएको छ । सबै नागरिकको स्वास्थ्य चेकजाँच गरि निःशुल्क उपचार समेत गरिएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखामार्फत सबै वडाका विभिन्न समुदायमा घुम्ती शिविर आयोजना गरि स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाइएको हो ।
यसबाट गाउँ नागरिक उत्साहित बनेका छन् ।
एकल पुरुषलाई सुरक्षा भत्ता
गाउँपालिकाका एकल पुरुषलाई सामाजिक सुरक्षा वापतको भत्ता दिने गरिएको छ । पालिकाका ५५ वर्ष उमेर पुगेको एकल पुरुषका लागि यो कार्यक्रम लागू गरिएको हो ।
उनिहरुलाई मासिक पाँच सय रुपैयाँ वितरण गर्ने गरिएको छ । सोही अनुसार चालु आर्थिक वर्षमा चार लाख बराबरको बजेट विनियोजन गरिएको छ । यसका लागि थप रकम उपलब्ध गराउन तथ्याङ्क संकलन कार्य जारी छ । तथ्यांकको आधारमा सामाजिक परिचालकद्वारा काम सुरु भइरको छ ।
पशुको कृतिम गर्भाधान
गाउँपालिकामा पालन गरिएका पशुको कृतिम गर्भाधान कार्य निरन्तर जारी छ । यो कार्यक्रम लागू गरेको दुई वर्ष पुग्यो । सुरुवातको वर्षमा भैसीमा उक्त गर्भाधानको परीक्षण गरिएको थियो ।
भैंसीमा गरिएको परिक्षणबाट सफल भएपछि हाल गाई–बाख्रामा समेत कृतिम गर्भाधान सुरु गरिएको छ ।
गर्भाधान गराएवापत लाग्ने अन्य खर्च गाउँपालिकाले व्यहोरेको थियो भने प्राविधिकलाई फिल्ड वापतको खर्च एक हजार किसानले दिन्थे । हाल सबै खर्च गाउँपालिकाले व्यहोर्ने भएको छ ।
गर्भवती महिलासंग उपाध्यक्ष कार्यक्रम
गाउँपालिकाका गर्भवती महिलालाई लक्षित गरी गर्भवती महलिासँग उपाध्यक्ष कार्यक्रम संचालन गरिएको छ । गाउँपालिकाका गर्भवती महिलाका लागि आवश्यक क्रियाकलाप संचालन गर्न उक्त कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।