सुर्खेत । नेपाली भूमि लिमीको लाप्चा बगरमा चीनले नौ वटा भवन निर्माण गरेको छ । नेपाली भूमि अतिक्रमण चीनले भवन निर्माण गरेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए ।
‘२०६६ सालमा एउटा भवन निर्माण गरिएको थियो । तत्कालिन समयमा स्थानीयको विरोध र प्रमुख जिल्ला अधिकारीको अनुगमन पश्चात चीनियाँ टोली भवन छोडेर भागेको थियो ।’ उनले भने, ‘हाल सोही स्थानमा नौं वटा भवन निर्माण गरिएको छ ।’
चीनले निर्माण गरेका उक्त भवनको निरीक्षण गर्न नाम्खा गाउँपालिका ६, स्थित लिमीतर्पm टोलि खटिएको हमालले जानकारी दिए ।
उनका अनुसार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गत शनिबार टोली खटिएको हो । जिल्ला सदरमुकामदेखि उक्त स्थान पुग्न करिब ५ दिन लाग्ने हमालको भनाई छ ।
टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्ष लगायत छन् । टोलीले स्थलगत अध्ययनका लागि गएको सहायक प्रजिअ हमालले जनाए ।
नेपाली भूभागमा बनेका ती भवन कुन प्रयोजनाका लागि बनेको हो भन्ने नखुलेको उनको सहायक प्रजिअ हमालको भनाई छ । चिनियाँ पक्षको जिम्मेवार व्यक्तिसँग बुझन खोज्दा समेत भवन निर्माण स्थलमा जान रोकिएको उनले बताए ।
‘हामीलाई त्यहाँ जान दिइएन, टाढैबाट फोटो खिचेर फर्कियौं’, हमालले भने, ‘भवन निर्माण भएको ठाउँभन्दा झण्डै दुई किलोमिटर अगाडि डाँडामा १२ नम्बर सीमास्तम्भ रहेको छ । तर त्योसँगै रहेको ११ नम्बर सीमास्तम्भ भने हराएको छ ।’