सुर्खेत । अनसनरत् डाक्टर गोविन्द केसीको श्वास–प्रश्वास स्वासमा समस्या भएको छ । उनको अघिल्लो रातीदेखि छाती अत्यधिक दुख्नुको साथै स्वास फेर्न गाह्रो भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर अनुप मंगल समालले जानकारी दिए ।
अनसनका छैठौं (शनिबार) डा. केसीमा कमजोरी, चक्कर लाग्ने, मांसपेसी बाउडिने र मुटुको चाल शुक्रबारभन्दा बढी गडबडी भएको डा. समालले जनाए ।
उनका अनुसार पिसाबको मात्रा कमी भएको छ भने प्रेसर क्रमिक रुपमा कम भैरहेको छ । डा. केसीको पिसाबको मात्रा मध्यरातदेखि दुई सय मिलिलिटरबाट कम हुँदै आएको छ ।
डा. केसीको दिनमा तीन पटक सामान्य स्वास्थ्य जाँच गरी अस्पताल जान परामर्श प्रदान गरेपनि अस्वीकार गरेको त्यहाँस्थित डाक्टहरुको भनाई छ ।
उनिहरुका अनुसार रगतमा चीनीको मात्रा लगायत अन्य जाँच गर्न मानेका छैनन् भने नशाबाट सलाईन लिन र अस्पताल जान समेत मानेका छैनन् ।
डा. केसीमा ‘इलेक्ट्रोलाइटिस’ तथा ‘एसिड बेस व्यालेन्स’मा गडबडी भई प्रमुख अंगहरुमा समस्या, रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा हुन सक्नुका साथै रगतमा चीनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने अवस्था रहेकोले तुरुन्तै २४ घण्टा मनिटर गर्न सकिने ठाउँमा स्थानान्तर गर्नुपर्ने डाक्टरको सुझाव छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डढेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको लागि प्रक्रिया अघि बढाइनुपर्ने माग राख्दै केसी अनशनमा बसेका हुन् । २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग केसीको छ ।
डाक्टर केसी जुम्लाको बाविरामष्टो मन्दिरमा गत भदौं २९ गतेदेखि सत्याग्रहमा बसेका छन् । उनले मन्दिर नजिकैको डुडुलचैत्यमा अनशन बस्न खोजेका थिए । तर प्रहरीले त्यहाँ जान नदिएपछि उनी मन्दिरमै अनशन बसेका हुन् ।