सुर्खेत । अनसनरत् डाक्टर गोविन्द केसीमा संक्रमण खतरा देखिएको छ । उनको अनसनको पाचौं दिनमा रोग प्रतिरोधात्मक क्षमता कमी हुँदै आएपछि संक्रमण खतरा भएको हो ।
उनले रगतमा चीनीको मात्रा लगायत अन्य जाँच गर्न नमानेकोले थप जटिल समस्या भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रवीण कुमार गिरीले बताए ।
‘डा.केसीले रगतमा चीनीको मात्रा लगायत अन्य जाँच गर्न मान्नु भएको छैन’ उनले भने, ‘रगतमा चीनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने सम्भावना छ ।’
उनका अनुसार डा. केसीले नशाबाट सलाईन लिन र अस्पताल जान समेत मानेका छैनन् ।
डा. केसीमा ‘इलेक्ट्रोलाइटिस’ तथा ‘एसिड बेस व्यालेन्स’मा गडबडी भई प्रमुख अंगहरुमा समस्या देखिन सक्ने डा. गिरीले जनाए ।
उनका अनुसार डा. केसीमा कमजोरी, चक्कर लागी मुटुको चाल बढेको छ भने मांसपेसीहरु बाउडिने समस्या भैरहेको छ ।
त्यस्तै, छाती दुख्ने, स्वाँस फेर्न गाह्रो हुने, पिसाबमा कमी हुनुका साथै प्रेसर कम भई रहेको डा. गिरीले बताए ।
डा. केसीलाई २४ घण्टा नियमित मोनिटर गर्न सकिने ठाउँमा यथाशिघ्र स्नानान्तर गर्नुपर्ने डाक्टरको सुझाव छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डढेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको लागि प्रक्रिया अघि बढाइनुपर्ने माग राख्दै केसी अनशनमा बसेका हुन् । २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग केसीको छ ।
डाक्टर केसी जुम्लाको बाविरामष्टो मन्दिरमा गत भदौं २९ गतेदेखि सत्याग्रहमा बसेका छन् । उनले मन्दिर नजिकैको डुडुलचैत्यमा अनशन बस्न खोजेका थिए । तर प्रहरीले त्यहाँ जान नदिएपछि उनी मन्दिरमै अनशन बसेका हुन् ।