सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ लाटीकाेइलीस्थित काँक्रेविहार संरक्षित क्षेत्रका वन सुरक्षा गार्ड बस्ने घरमा प्रहरी बसेका छन् । केही समयका लागि भन्दै दिइएकाे भवन प्रहरीले फिर्ता गरेकाे छैन । जसकाे कारणा वनका सुरक्षा गार्डले सास्ती खेप्नु परेकाे छ ।
डिभिजन वन कार्यालय सुर्खेतले २०७६ भदाैं २५ गते केही समयका लागि भन्दै अस्थायी प्रहरी बिट राख्न अनुमति दिएकाे थियाे । काँक्रेविहार संरक्षित क्षेत्रका लागि २ वटा भवन संचालनमा छन् । तीमध्ये एउटा घर वन कार्यालयबाट कार्वाहीमा परेका व्यक्तिलाइ राख्ने हिरासत हाे भने अर्काे सुरक्षा गार्ड बस्ने घर हाे । हाल ती घर मध्ये एकमा प्रहरी बस्दै आएका छन् ।
जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्र प्रसाद दाहलको ठाडो आदेशमा वनको सुरक्षा गाडको लागि बनार्इएको भवन प्रहरीलार्इ दिर्इएको आराेप स्थानीयकाे छ । केही समयका लागि दिएकाे घर वर्षाैं पुग्दासमेत खाली गर्न नलगाइ वनका कर्मचारिलाइ सास्ती दिएकाे भन्दै आफ्नै कर्मचारीप्रति वे–वास्ता गरेकाे एक स्थानीयले आराेप लगाए ।
हाल उक्त भवनमा दुइ जना जमदार, एक हवल्दार र तीन जना सिपाही सहित ५ जना वनका सुरक्षा गार्ड बस्दै आएका छन् । उनिहरूलाइ बस्न समस्या भैरहेकाे छ भने डिभिजन वन कार्यालयबाट कार्वाहीमा परेका व्यक्तिहरूलाइ राख्ने हिरासत समेत नभएकाे कर्मचारीकाे गुनासाे छ ।
कर्मचारीहरू उक्त हिरासत घरमै बस्न बाध्य छन् । वनका सुरक्षा गार्डका लागी बनाएको राम्रो भवन डिभिजन वन प्रमुखले आफुखुशि गैरकानुनी रुपमा प्रहरीलाइ दिएकाे एक स्थानीयले आराेप लगाए । ‘केही समयको लागी भवन दिएको भनिएता पनि डिभिजन वन प्रमुख दाहलले प्रहरीलाइ यसक्षेत्रबाट अन्यत्र सार्न अहिले सम्म कुनै चासो देखाएका छैनन्’ स्थानीयले भने ।
प्रहरीले भवन प्रयाेग गर्न थालेपछि आफुहरुलाइ पानी, शौचालय प्रयाेग गर्न र बस्न समेत समस्या भएको कार्यालयका कर्मचारीले बताए ।
यता डिभिजन वन कार्यालयका प्रमुख गोविन्द्र प्रसाद दाहलले कर्मचारी व्यवस्थापन गर्न आफ्नाे भवन फिर्ता ल्याउने अथवा प्रहरीलाइ नै प्रयाेग गर्न दिने कुरामा अज्ञानता प्रकट गरे ।
उनले तत्कालिन जिल्ला सुरक्षा समितिको बैठकमा प्रहरी प्रमुखले राखेको अनुरोधमा भवन प्रयोग गर्न दिएका हुन।