सुर्खेत । कोरोना भाइरसको (कोभिड–१९)ले गत चैत्र महिनादेखि होटल व्यवसाय ठप्प छन् । व्यवसाय बन्द हुँदा कर्णाली प्रदेशमा संचालित होटल व्यवासायीहरु धरासयी बन्दै गएका छन् ।
कर्णालीमा दुई हजार पाँच सय होटल संचालनमा छन् । ती होटलहरुमा करिव एक करोड देखि ५० करोड बराबरको लगानी गरिएको छ । होटेल व्यवसायलाई ३ भागमा वर्गिकरण गरिएको छ । जसमध्ये ३ सय बराबर ठूला स्तरिय होटेलहरु छन् भने, बाँकी २ हजार २ सय मझौला तथा साना होटेल व्यवसायीहरुको संख्या छ । करिव दुई हजार कर्मचारी कार्यरत रहेका छन् । तीमध्ये आधाभन्दा धेरै कर्मचारीको रोजगारी गुमिसकेको होटल व्यवसाय महासंघ कर्णाली प्रदेश अध्यक्ष तर्कबहादुर शाहीले बताए ।
लामो समयसम्म व्यवसाय संचालन नहुँदा दैनिक २०–२५ लाख बराबर घाटा व्यहोर्नुपरेको छ । होटल व्यवसाय धरापमा हुँदा सरकारले विकल्प समेत दिन सकेको छैन । देशभर करिव ७० प्रतिसत होटल व्यवसाय विस्तापित हुने अवस्था छ । कर्णालीमा साना व्यवसाय बन्द हुने दर बढ्दै छ भने ठूला व्यवसाय बैंक व्याज तिर्न नसक्ने अवस्था रहेको अध्यक्ष शाहीको भनाई छ ।
‘होटल व्यवसाय ठप्प भएर बन्द हुने अवस्थामा सरकारले सहजीकरण समेत गरेको छैन । बैंकको व्याजले सताएको छ । कर्मचारीलाई तलव खुवाउन नसक्दा द्वन्द्व सिर्जना भएको छ ।’ उनले भने, ‘स्टाफ घर पठाउँदा नफर्किने डर, राख्दा तलव खुवाउन सकिदैन । कामदारको पारिश्रमिक कटौती गर्दा आन्दोलित भएका छन् ।’
होटेल व्यवसाय खोल्न सरकारले केही खुकुलो गरेपनि यसको कुनै अर्थ नभएको होटल सञ्चालकको भनाई छ । ‘सार्वजनिक यातायातका साधन बन्द छन् । जसको कारण एक जिल्लाबाट अर्को जिल्ला सहज रुपमा आवत–जावत गर्न कठिनाई छ भने प्रदेश बाहिरबाट आउनका लागि पूर्णरुपमा बन्द जस्तै छ’ होटल संचालक जनक सिंह ठकुरीले भने, ‘मानिसमा मनोवैज्ञानिक त्रास उत्तिकै छ । मानिसहरु जहाँसुकै बस्न रुचाउँदैन । जसको कारण होटलमा खाना–बस्नको लागि समेत मानिसहरु आउँदैनन् ।’
व्यवसायका लागि सरकारले एकिन निर्णय गर्न नसक्दा आफुहरु धरापमा परेको होटल उनिहरुको भनाई छ । अर्थतन्त्रको हिस्सा आगेटेको होटेल व्यवसाय क्षेत्र प्रभावित हुँदा पनि सरकारले उचित राहत प्याकेज नल्याएको उनिहरुको गुनासो छ ।
संघ, प्रदेश र स्थानीय तहका सरकारसँग होटल व्यवसायीको माग राख्दै विभिन्न ज्ञापन पत्र बुझाउँदासमेत सुनुवाई नभएको अध्यक्ष शाहीले जनाए । ‘होटल व्यवसाय संचालन गर्न सरकारले कुनै मापदण्ड बनाइदिएको भए पनि सोही अनुसार निरन्तर संचालन गर्न तयार छौं’ उनले भने, ‘तोकिएका मापदण्ड अनुसार हामी होटल संचालन गर्न सक्छौं भने ग्राहकको स्वास्थ्य सुरक्षाको जिम्मेवारी समेत लिन सक्थ्यौं ।’
कर्णाली प्रदेश सरकारले बाहिरबाट आउने नागरिकका लागि सहज वातावरण सिर्जना गरेको भएपनि केही राहत हुने होटल संचालकको भनाई छ ।