सुर्खेत । विद्युत पँहुच नभएका विपन्न घरपरिवारलाई उज्यालो बनाउन दैलेखकाे डुंगेश्वर गाउँपालिकाले पहल थालेको छ । सोही अभियान अर्न्तगत गाउँपालिकाका ५३ घरपरिवारलाई सौर्य बत्ति (सोलार) वितरण गरेको छ ।
संघिय सरकारको ससर्त अनुदानमा गाउँपालिकाले सात लाख ५० हजारमा ५५ वाट सोलार क्षमताका ५३ सेट सोलार वितरण गरेको गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले जनाए ।
उनका अनुसार चालु आर्थिक वर्षमै नागरिकको घरदैलोमा पूर्ण विद्युत सेवा विस्तार गर्ने गाउँपालिकाको लक्ष्य छ ।
‘सबै नागरिकको घरमा बत्ति बाल्न विद्युतको पँहुच कम भएका अति विपन्न परिवारका लागि सोलार वितरण गरिएको हो’ अध्यक्ष मल्ले दुल्लूखबरसँग भने, ‘आर्थिक स्थितिले पनि कमजोर भएका घरपरिवारलाई वडाको सिफारिसमा सोलार उपलब्ध गराइएको हो ।’