सुर्खेत । विद्यालय भवन निर्माणमा अनियमितता गरेको पाइएको छ । सुर्खेतको चिंगाड गाउँपालिका–३, स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय काँडाघुवानीको दुई तले पक्की भवन निर्माणमा मापदण्ड विपरित कार्य गरेपछि अनियमितता भएको पाइएको हो ।
नमुना सामुदायिक विद्यालयको पूर्वाधार विकास कार्यक्रम अन्र्तगत शिक्षा विकास निर्देशनालयको कार्यान्वयनमा विद्यालय व्यवस्थापन समितिले ५० लाखमा उक्त भवन निर्माण गर्न लागेको हो ।
विद्यालय भवन निर्माणका लागि शिक्षा विकास निर्देशनालय र विद्यालय व्यवस्थापन समितिबीच भएको सम्झौता भएको छ । उक्त सम्झौता–पत्रमा मिति तोकिएको छैन ।
विद्यालयको सम्झौता–पत्रमा विद्यालय भवनको भित्तामा इट्टा, सिमेन्ट र बालुवाको प्रयोग गर्ने उल्लेख गरिएको छ । तर निर्माण गरिएको उक्त भवनमा माटो र ढुंगा प्रयोग गरेर विद्यालयको भित्ता निर्माण गरिएको छ ।
सम्झौताविपरीत काम हुँदा भवनको गुणस्तरीयतामाथि नै स्थानीयले शंका गर्न थालेका छन् । विद्यार्थी संख्याको अनुपातमा अपर्याप्त कक्षा कोठा हुँदा शिक्षा विकास निर्देशनालयले यहाँ दुई तले पक्की भवन निर्माण गर्न लागेको थियो ।
दुई तले बन्नु पर्ने भवन अहिले एक तलासम्म पूरा भएको छैन तर शिक्षा विकास निर्देशनालयबाट दोस्रो किस्तासमेत भुक्तानी भइसकेको छ । ‘विद्यालय भवन मापदण्डविपरीत भएको छ,’ स्रोतले भन्यो, ‘इँटा, सिमेन्ट र बालुवा प्रयोग गर्ने भनिए पनि माटो र ढुंगा मात्र प्रयोग गरिएको छ ।’ जसले गर्दा भवनको गुणस्तरीयतामाथि प्रश्न चिन्ह खडा हुने उनको भनाइ छ ।
इट्टा, सिमेन्ट र बालुवा प्रयोग नगरि निर्माण जिम्मा लिएकाले रकम हिनामिना गर्न खोजेको उनको आरोप छ ।
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधविक्रम जिसीले भने माटो र ढुंगा प्रयोग गर्ने नियति नभइ बाध्यता भएको बताए । बन्दाबन्दी (लकडाउन) को समयमा इँटा, सिमेन्ट र बालुवा ढुवानी गर्न नसक्दा माटो र ढुंगा प्रयोग गरेको उनको भनाइ छ ।
‘लकडाउनमा सामग्री ढुवानी गर्न समस्या भयो,’ उनले भने, ‘त्यसैले सम्झौताअनुसार काम हुन सकेन । भित्तामा प्रयोग गरिएका ढुंगा पनि राम्रो प्रयोग गरेका छौं ।’ भवनको अन्य काम सम्झौताअनुसार भएको उनले बताए । विद्यालयका प्रधानाध्यापक शेरबहादुर जिसीले विद्यालयको भवन निर्माण कार्य सम्पन्न नभएको बताए । ‘भवन निर्माण कार्य सकिएको छैन,’ उनले भने, ‘अहिले नै यसो भयो उसो भयो भन्नु राम्रो हुँदैन ।’
भवन कार्य सकिएपछि सम्झौताअनुसार भए नभएको विषय उठाउनु पर्ने उनको भनाइ छ । उनले यसो भनिरहँदा सुरुदेखि त्रुटि गर्ने र पछि भवनलाई रंगरोगन गरेर सम्झौताविपरीत भएको काम लुकाउन खोजेको स्रोतको भनाइ छ ।