मिश्रले पिरामिड पस्कनुअघि
चीनले ग्रेटवाल देखाउनुअघि
भेनिसले सहर बसाउनुअघि
पेरिसले आइफल चढाउनुअघि
तिनकै गहिरो मायामा थिएँ म
छुट्नै नमिल्ने छायाँमा थिएँ म
हार्वर्डले सिलेबस् बनाउनुअघि
जुकरबर्गले फेसबुक चलाउनुअघि
सिङ्गापुरको समृद्धि चुलिनुअघि
बुर्जखलिफा अग्लिनुअघि
तिनकै गहिरो मायामा थिएँ म
छुट्नै नमिल्ने छायाँमा थिएँ म
ए,भीरपाखामा गीत गाउनेहरू हो
पाटनमा भेँडा चराउनेहरू हो
मन्दिर र मस्जिद धाउनेहरू हो
ढुङ्गालाई फूल चढाउनेहरू हो
पराधीनतामा रमाउनेहरू हो
तिम्रा पनि अठोट छन् र ?
आँखाहरूमा सपना छन् र?
सम्भावनामा खोज मलाई
गहिरा आँखाले रोज मलाई
उद्देश्यहरूमा सोँच मलाई
पाखुरीहरूले घोँच मलाई
यिनकै गहिरो मायामा हुन्छु म
छुट्नै नमिल्ने छायाँमा हुन्छु म
आऊ, एकपल्ट अँगालो हालौँ
झुपडीतिर ढल्किनेलाई सलाम
मैनसरि पग्लिनेलाई सलाम
बाजुहरूले हल्किनेलाई सलाम
हिमालसरि अग्लिनेलाई सलाम
सपना देख्नेहरूलाई सलाम ।
(लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्टार हुनुहुन्छ)