जुम्ला । जुम्लाका युवाहरुले कोरोना भाइरसबाट संक्रमित भई आइसोलेसनमा रहेका व्यक्तिहरुका लागि किताब संकलन सुरु गरेका छन्। जागौं कर्णाली नेपाली नामक संस्थाले जुम्लाका कोरोना संक्रमित भएका व्यक्तिहरुका पुस्तक अभियान सुरु गरेको हो। कोरोनाबाट प्रभावित भएका, संक्रमित र कोरोना जितेर घर फर्किएका व्यक्तिहरुलाई समय बिताउन सहज होस् भन्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको अभियानकर्ता धनराज सुनारले बताए। अभियानअन्तर्गत अहिले पुस्तक संकलन भइरहेको उनले बताए।
जुम्लाका आठवटै स्थानीय तहमा रहेका आइसोलेसनमा बसिरहेका व्यक्तिहरुलाई कोरोनाको त्रासपूर्ण मानसिकताबाट छुटकारा दिने उद्देश्यले अभियान सञ्चालन गरिएको सुनारको भनाइ छ। यसरी संकलन गरिएका पुस्तकहरु क्वारेन्टिन तथा आइसोलेनमा रहेका व्यक्तिहरुलाई निःशुल्क अध्यायन गर्न उपलब्ध गराइनेछ। लेखक पुरिचन्द देवकोटा, पत्रकार महेश नेपाली, लेखक खडानन्द चौलागाई यामराम कार्की, कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाही, स्टेशनरी व्यवसायी गणेश रोकायाले पुस्तक सहयोग गरेका छन्। आइसोलेसनमा ‘किताब पढौं, कोरोनाको त्रासपूर्ण मानसिकताबाट हटौं’ भन्ने नाराका साथ किताब संकलन गरेको सुनारले बताए। अहिलेसम्म तीनवटा आइसोलेसनमा किताब वितरण गरिएको छ।
निर्माण व्यवसायी संघमा रहेको आइसोलेसनमा २५ वटा कितब र निको भएर घर गएपछि होम क्वारेन्टाइन कसरी बस्ने तरिका र ध्यानदिनुपर्ने कुराबारे तयार पारिएको ५० वटा पर्चा वितरण गरिएको सुनारले बताए। यस्तै, कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको आइसेलेसनमा १५ वटा किताब र ३० वटा पर्चा वितरण गरिएको छ । अभियान सुरु भएपछि ७० वटा किताब संकलन गरिएको छ।