रुकुम पश्चिम । चौरजहारी नगरपालिकामा सञ्चालित १३ मेडिकल सिल गरिएको छ । नगरपालिकामा सञ्चालित १६ मेडिकलमध्ये १३ मेडिकल बन्द गरिएको हो ।
अनुगमनको क्रममा कैफियत भेटिएपछि नगरपालिकाले मेडिकल सिल गरेको हो । ११ नम्बर वडाको लाइफ मेडिको फर्मा, ७ नम्बर वडाका ध्रुव पोलिक्लिनिक, ममता मेडिकल, वडा नम्बर २ को त्रिवेणी मेडिकल र १२ नम्बर वडाको जीवन रक्षा मेडिकल सिल गरिएको छ । ७ नम्बर वडाको संगम मेडिकल, ९ नम्बरको समीक्षा मेडिकल र ११ नम्बर वडाको देविका मेडिकल पनि सिल गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार ४ मेडिकल नाम नै नराखी सञ्चालनमा थिए ।
तोकिएको मापदण्ड पूरा गरेपछि सिल खोलेर मेडिकल सञ्चालनको अनुमति दिइने नगरप्रमुख विशाल शर्माले बताए । उनका अनुसार ६, १०, ११, १२, १३ र १४ नम्बर वडालाई पायक पर्ने गरी ५ शय्याको अस्पताल सञ्चालन गर्न तयारी थालिएको छ ।