दैलेख भदौ १३, २०७७
दैलेखको ठाँटीकाँध गाउँपालिका वडा नं. एक सिराडीकी एक २३ वर्षीया महिलाको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रको लापरवाहीका कारण ज्यान गएको आफन्तले आरोप लगाउँदै गाउँपालिका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।
स्थानीय २३ वर्षकी पार्वती शाहीलाई भदौ ११ गते विहान सुत्केरी विराम लागेको थियो । विहान ११ बजे उनलाई लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको र दिउसो तीन बजे पार्वतीले छोरी जन्माएकी थिइन् । उनले दिउसो तीन बजे छोरी जन्माइन भने त्यसपछि उनलाई रक्तस्राब भएको, अस्पतालले समयमै रेफर नगरेको र उपचारका लागि पालिकाले हेलिकप्टर वा अन्य साधनको व्यवस्था नगरिदिएका कारण पार्वतीको ज्यान गएको बताउँदै आन्दोलनमा उत्रिएको उनका भतिजा सर्जन शाहीले बताए ।
‘हामीले अस्पताल प्रशासनलाई बारम्बार आग्रह गर्यौं । यहाँ सञ्चो हुँदैन भन्ने कुरा हामीले भन्दा पनि उहाँहरुले रेफर गर्न मान्नु भएन । उहाँले बच्चा जन्माई सकेपछि ब्लडिंग भइरहेको थियो,’ उनले गुनासो गर्दै दुल्लु खबरसग भने, ‘हामीले पालिका अध्यक्ष धीरबहादुर शाहीलाई हेलिकोप्टरको व्यवस्था गरिदिन आग्रह गरेका थियौं । उहाँले हेलि आउन नसक्ने बताउनुभयो । गाउँपालिकाको एम्बुलेन्स बिग्रेका कारण साँझ ६ बजे मात्रै हामीले प्रदेश अस्पतालतर्फ विरामीलाई ल्याएका थियौं । उनको गएराति १२ बजे मृत्यू भएको प्रदेश अस्पतालका डाक्टरले घोषणा गरे ।’
उनले पालिकाले एक एम्बुलेन्सको पनि व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै हदैसम्मको कारवाही गर्नुपर्ने नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए