दैलेख । समुदायस्तरमा फैलिइसकेको कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दैलेखले ‘एसएमएस अभियान’ संचालन गरेको छ। जिल्लास्थित नागरिक समाजका अगुवाहरुसँगको बैठकमा कोभिड–१९ संकट व्यवस्थापन समितिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले अभियानको जानकारी गराएका हुन् ।
कर्णाली प्रदेशको दैलेखमा सक्रिय कोरोना संक्रमितको संख्या ५७ जना मात्रै छ । बुधबारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार ३८ जना छ । ती मध्ये ९ सय ८१ जना निको भइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड –१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए ।
नेपाली सेनाको इन्द्र दल गुल्मका सेनानी बिकेसिंह बिश्वकर्मा, प्रहरी नायव उपरीक्षक हरिबहादुर ओली, दैलेख अस्पतालका डा. निरञ्जन पन्त र सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री समेत सहभागि बैठकमा सरकारी र गैरसरकारी संस्थाहरुको साझेदारीमा अभियान थालीएको प्रजिअ सुनारले बताए ।
सामाजिक दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र सेनिटाइजरको प्रयोगले कोरोना रोकथाममा तीनवटा सुरक्षा सीप प्रयोग गराउन एसएमएस अभियान सुरु गरिएको हो । स्थानीय प्रशासनले चालेको कदममा स्थानीय गैरसरकारी निकायहरुले हातेमालो गर्ने भएका छन् ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठ, एभरेष्ट क्लवका अध्यक्ष दीपक शाही, गैसस महासंघका राधा मल्ल लगायतले कोरोना रोकथामका लागि संञ्चालन गर्न लागिएका परियोजना कार्यक्रमहरुले एसएमएस अभियानलाई सहयोग गर्ने बताए