मुगु । जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका लेखापाललाई कोरोना संक्रमण पुष्टि भएपछि मुगु सदरमुकाम गमगढी बजार एक साताका लागि सिल गरिएको छ ।
कोरोना संक्रमण फैलिन नदिनका लागि गमगढी बजार र आसपासका क्षेत्रमा आवतजावत र अन्य गतिविधि गर्न नपाइने गरी जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि एक साताका लागि सिल गरेको हो ।
यस अवधिमा अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरेको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी गराए । उनका अनुसार बजार क्षेत्र प्रवेश गर्ने बुलबुले, रारा, आँसिधारा, बाम र लुम्स नाका पनि बन्द गरिएको छ । अन्तरपालिका तथा अन्तरजिल्लाबाट आवतजावतमा समेत रोक लागाएको उनको भनाइ छ ।
बजारमा खाद्यान्न पसल पनि दिनमा एक घन्टा मात्रै खोल्न दिइने उनले बताए । जिल्ला अस्पतालमा पनि इमर्जेन्सीबाहेक सबै सेवा एक साताका लागि बन्द गरिएको छ ।