सुर्खेत । दैलेख जिल्लामा जारी निषेधाज्ञा आजदेखि १२ गते राति १२ बजेसम्मका लागि थप गरिएकाे छ । काेराेना संक्रमण नियन्त्रणका लागि सहज परिस्थिति नभएकाे भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञाकाे समय थप गरेकाे हाे ।
संक्रमित व्यक्तिकाे कन्ट्याक ट्रेसिङ गर्दा भेटिएका अन्य व्यक्तिकाे स्वाव संकलन र परीक्षणमा असहज परिस्थित भएकाेले निषेधाज्ञाकाे समय थप गरिएकाे प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले दुल्लूखबरलार्इ जानकारी दिए ।
‘यसअघि जारी गरिएकाे निषेधाज्ञाभन्दा केही सहज बनाइएकाे छ’ प्रजिअ सुनारले दुल्लूखबरसँग भने, ‘तरकारी पसल र अत्यावश्यक खाद्यान्न पसलहरू विहान २ घण्टा र साँझ २ घण्टा खुल्ला गर्नेगरि केही खुकुलाे बनाइएकाे छ ।’
उनका अनुसार विहान ६ देखि ८ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म पसल खुल्ला हुने छन् भने औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, खानेपानी, विद्युत, फोहोर–मैला व्यवस्थापन लगायतका अत्यावश्यक सेवाबाहेकका अन्य कुनैपनि सेवाहरू सञ्चालन गर्न निषेध गरिएको छ।