सुर्खेत । सोमबार सडक निर्माणकाे रकम ३ जनाले ९२/९२ हजार बाँडेकाे खुलासा (अडियाेसहित) एका-एक चर्चामा आयो । सो टेलिफोन कुराकानीमा उपभोक्ता समितिका तीन जनाले योजनाको रकम बाँडेर लिएको स्वीकारोक्ती गरिएको छ ।
दैलेखको गुराँस गाउँपालिकाको वडा नम्बर ६ अन्र्तगत निर्वाचन क्षेत्र विकास कोषबाट संचालित भिउँचुला बगौरा पुलिया सडक स्तरोन्नति कार्यको उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षले २ लाख ७६ हजार रकम बाँडेर लिएको बताइएको छ ।
उक्त सडक निर्माणका लागि आर्थिक वर्ष २०७६÷०७७ मा ४९ लाख ६२ हजार पाँच सय रकम प्रदेश सरकारबाट विनियोजन गरिएको थियो । सोही रकमबाट कन्टिजेन्सी कटाई उपभोक्ता समितिले रकम भुक्तानी लिएको गाउँपालिका स्रोतले जनाएको छ ।
सडक निर्माण तथा स्तरोन्नति कार्यका लागि टेण्डर प्रक्रिया बाहेक उपभोक्ता समितिले काम लिएमा कम्तिमा २० प्रतिसत जनश्रमदान गर्नुपर्ने व्यवस्था रहेको छ ।
तर उक्त उपभोक्ता समितिले ‘नाश मल्टिप्रपोज कम्पनी’सँग काम सम्पन्न गर्नेगरि सम्झौता ग¥यो । सो कम्पनीसँग उपभोक्ता समितिले जम्मा ३२ लाख ३१ हजार ५ सय रुपैयाँ भुक्तानी दिएको कम्पनीले जनाएको छ ।
कम्पनीका संचालक हिक्मत ओलीका अनुसार प्रति घण्टा ५ हजार ५ सयका दरले ८ सय ५ घण्टा मेशिनको बकेटले काम गरे वापतको रकम भुक्तानी लिइएको हो भने प्रति घण्टा ६ हजार ५ सयका दरले ६५ घण्टा मेशिनको व्रेकरले काम गरे वापतको रकम समितिले दिएको छ ।
त्यस्तै बाटो सफाईका लागि सानो मेशिन (जेसीवी)ले प्रति घण्टा २५ सयका दरले ४२ घण्टा काम गरे वापतको रकम भुक्तानी कम्पनीले लिएको छ ।
सोही विनियोजित रकम अनुसार ३ किलोमिटर नयाँ सडक खनिएको छ भने सडकको थप स्तरोन्नती गरि ८ मिटर चौडाई बनाइएको निर्माण कम्पनीका संचालक ओलीले जानकारी दिए ।
यसरी उपभोक्ता समितिले ४९ लाख ६२ हजार पाँच सय बराबरको सडक ३२ लाख ३१ हजार पाँच सय रुपैयाँमै स्तरोन्नती कार्य निर्माण व्यवासायीलाई बेचेर बाँकी रकमको दुरुपयोग गरि अनियमितता गरिएको स्थानीयको आरोप छ ।
रकम बाँडेको अडियो सार्वजनिक
भिउँचुला बगौरा पुलिया सडक स्तरोन्नति कार्यको उपभोक्ता समितिका अध्यक्ष गगन खत्री, सचिव गोविन्द ओली र कोषाध्यक्ष भक्तबहादुर रानाले २ लाख ७६ हजार रुपैयाँ बाडेर लिएको टेलिफोन कुराकानी दुल्लू सार्वजनिक भएको छ ।
उनिहरु तीन जनाले ९२/९२ हजार रूपैयाँ बाँडेर लिएको समितिका अध्यक्ष खत्रीले निर्माण कम्पनीका संचालक हिक्मत ओलीसँग टेलिफोनमा बताएका छन् ।
टेलिफोन कुराकानी अनुसार उक्त रकम हिक्मत ओलीको भाग पनि लाग्नुपर्ने अडान ओलीले लिएका छन् । उपभोक्ता समितिका कोषाध्यक्षले ओलीको भागमा रकम दिन नमानेपछि तीन भागमात्रै लगाएको अध्यक्ष खत्रीले भनेका छन् ।
त्यस्तै समितिका अध्यक्ष खत्रीले वडा अध्यक्ष हिमबहादुर ओलीको रोहवरमा रकम बाँडेर लिएको बताएका छन् भने अध्यक्ष ओलीलाई रकम दिदाँ नलिएको समेत बताएका छन् ।
उनिहरुबीचको टेलिफोन कुराकानीमा गाउँपालिकाका सव–ईन्जिनियर नविन कुमार विसीलाई ४० हजार रकम दिएर योजना मिलाएको समेत खुलासा गरेका छन् ।
पूरा भिडियाे हेर्नकाे लागि सडक निर्माणकाे रकम ३ जनाले ९२/९२ हजार बाँडेकाे खुलासा (अडियाेसहित)मा क्लिक गर्नुहाेस् ।
गाउँपालिका अध्यक्षको ‘एक्सन’
भिउँचुला बगौरा पुलिया सडक स्तरोन्नति कार्यको सार्वजनिक टेलिफोन वार्ताका सम्बन्धमा गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले ‘एक्सन’ लिएका छन् । उनले सोमबारै तीन सदस्यीय छानविन समिति गठन गरेका छन् भने गाउँपालिकाका सव–ईन्जिनियर नविन कुमार विसी र वडा अध्यक्ष हिम बहादुर ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनेका छन् ।
वडा अध्यक्ष सुरेन्द्र महत्तरा, सव–इन्जियर उदयराज जैसी र सव–इन्जिनियर सूर्य नेपालीसहितको छानविन समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष ओलीले जानकारी दिए ।
‘छानविन समिति गठन गरिएको छ । समितिको प्रतिवेदन अनुसार कार्वाही प्रक्रिया अगाडि बढाइने छ ।’ अध्यक्ष ओलीले भने–‘वडाअध्यक्ष ओली र सव–ईन्जिनियरले पेश गरेको स्पष्टिकरण चित्तबुझ्दो नआए कानुनबमोजिम कार्वाही गरिने छ ।’