सुर्खेत । रुकुम पश्चिमको एक सरकारी कार्यालयका प्रमुखको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा थप ९ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
साउन २८ गते बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम गएका ती कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।
रुकुम पश्चिममा सोमबार मात्रै १८ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १० जना सरकारकी कार्यालयका कर्मचारी, तीन जना सुरक्षाकर्मी, दुई जना भारतबाट आएका र तीन जना सानीभेरी गाउँपालिकाका वासिन्दा रहेको कोरोना फोकल पर्सन रावलले जानकारी दिए ।
संक्रमितको संख्या बढेपछि मुसिकोट नगरपालिकामा संक्रमित व्यवस्थापनमा समस्या भएको छ । जिल्ला अस्पतालबाहेक अन्य ठाउँमा आइसोलेसन छैन । एकै पटक १८ जना संक्रमित थपिएपछि उनीहरुलाई अस्पतालको तालिम हलमा राखिएको छ ।
६ बेडको आइसोलेसन रहेको जिल्ला अस्पतालमा मुश्किलले ९ जना राखिएको छ ।