कालिकाेट । नेपाली चलचित्र र म्यूजिक भिडियोका चर्चित नायक पल शाह कालीकोट पुगेका छन् । सामाजसेवामा आफ्नो सक्रिय भूमिका निर्वाह गर्दै बाढीपीडित परिवारलाई राहत लिएर कालीकोट पुगेका हुन । पल शाह प्रतिष्ठान, हाम्रो टिम नेपाल र सुर्खेतमा क्रियाशिल मोटे ग्याङ्ग नेपालको सक्रियतामा राहत सामाग्री वितरण गरिएको छ ।
कालीकोट नरहरीनाथ गाउँपालिकाका बाढिपीडित परिवारलाई जिल्ला सदरमुकाममा राहत सामाग्री वितरण गरिएको मोटे ग्याङ नेपालका कुमार समिर थापाले जानकारी दिए । बाढीपिडित परिवारलाई खाद्यान्न, डस्ना, सिरक, कम्मल, दाल, नुन, तेल, म्याट वितरण गरिएकोछ । लकडाउनको समयमा चलचित्र प्राविधिकहरुका लागि ५ लाख बराबरको खाद्यान्न उपलब्ध गराएका पल शाहले विभिन्न समयमा सामाजिक काम गर्दै आएका छन् । लकडाउन खुलेपछि म्यूजिक भिडियोको काममा व्यस्त पल बुधबार भने कालिकोटतर्फ लागेका छन् ।
कालिकोटमा यसै साता गएको बाढी पहिरोका कारण ठूलो जनधनको नोक्सान भएको खबर सुनेपछि पल खाद्यान्न, लत्ता कपडा बोकेर कालीकोट पुगेका हुन । पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपालको सहकार्यमा कालिकोटका ४० घर परिवारलाई सिरक–डसना, खाद्यान्न सामाग्री वितरण गरेको छ । नायक पल शाहले भने–‘हामी बुधबार काठमाण्डौबाट हिडेका हौं । कालिकोट पुगेर शनिबार र आइतबार राहत वितरण गर्दैछौं ।’
त्यहाँबाट फेरि २ दिन हिड्नुपर्ने रहेछ । तर, स्थानिय बासिन्दाहरुसँग बिच बाटोमै भेट हुनेछ र उहाँहरुलाई हामी राहत वितरण गर्नेछौ ।’ पलले कालिकोटबाट अछाममा पनि जाने योजना रहेको बताए । उनले भने–‘सायद हामी कालिकोटमा राहत वितरण सकेर अछाम पनि जान्छौ होला । त्यहाँ पनि बाढीपहिरोले क्षती पुरयाएको भन्ने थाहा पाएका छौ ।’ सामाजिक कार्यमा सक्रिय हुन थालेपछि पलले ‘पल शाह प्रतिष्ठान’ स्थापना गरेका हुन् । विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपनि आफूहरुले काठमाण्डौबाट नै पास बनाएकाले कुनै समस्या नभएको पलले बताए ।