दैलेख ।
आइसोलेशन भवनको उद्घाटन् गरिएको छ । जिल्लाको महाबु गाउँपालिकामा निमार्ण गरिएको आइसोलेशन भवनको बुधबार एक कार्यक्रम आयोजना गरि औपचारिक उद्घाटन गरिएको हो ।
गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै संक्रमितलाई राख्न आइसियू कक्षका लागि ३० वेड सहितको उक्त भवन निर्माण गरेको हो ।
भवनको प्रदेश सभा सदस्य एवंम् सांसद अम्मर बहादुर थापाले उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै सांसद थापाले महाबु गाउँपालिकाका जनताको स्वास्थ्य सुरक्षामा आफ्ना तहबाट हुने जुनसुकै क्रियाकलापमा कुनै कसूर बाँकी नराख्ने बताए ।
उनले अस्पतालको थप स्तरोन्नतीका लागि आवश्यक पहल गरिने समेत बताए ।
गाउँपालिका स्रोतबाट गत आर्थिक वर्षको ५६ लाख रुपैयाँ लागनीमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए ।
‘जनताको स्वास्थ्य सुरक्षा गर्न, कोरोनारहित गाउँपालिका बनाउने योजनाका साथ भवन निर्माण गर्न सफल भएका छौं’ अध्यक्ष शाहीले भने, ‘यो भवनबाट आइसियू कक्षमा चाहिने सबै उपकरण जडान गरेका छौं । थप स्तरोन्नतीको लागि आवश्यक पहल गर्नेछौं ।’