मकवानपुर । बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोनो सङ्क्रमण भएको पुष्टि भएको छ । हेटौँडामा गत साउन २८ र ३० गते गरिएको स्वाब परीक्षणबाट उपसभामुख तामाङसहित उहाँका नौ वर्षीय छोरामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
यद्यपि प्रादेशिक अस्थायी कोरोना परिक्षण प्रयोगशालाले भने छोरामा कोरोना संक्रमणको पुष्ठि नगरेको हेटौंडा आईशोलेशन वार्डका इन्चार्ज भोला चौलागाईंले बताउनुभयो । साउन १५ गते सङ्घीय राजधानी काठमाडौँ गएका बेला भएका विभिन्न राजनीतिक जमघटहरूका क्रममा कोरोना सङ्क्रमण भएको अनुमान गरिएको उपसभामुख तामाङकी श्रीमान् डिबी तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार साउन १५ गते उपसभामुखसहितको टोली काठमाडौँ पुगी साउन २५ गते मात्रै फर्केको थियो । सो क्रममा गृहजिल्ला नुवाकोटका तीन वटा टोलीसँग भेटघाट र छलफल गरिएको उपसभामुखकी श्रीमान् तामाङले जानकारी दिनुभयो । “भेट गरिएकामध्ये एक जना वडाध्यक्षमा कोरोना पोजिटिभ देखिएपछि शङ्का लागेर हामीले पनि स्वाब परीक्षण गरायौँ”, उपसभामुखकी श्रीमान् तामाङले भन्नुभयो, ‘चालक, पीएसओसहित छ जनाको परीक्षणमा आमा छोरामा पोजिटिभ देखियो ।’
कोरोना सङ्क्रमणपछि उपसभामुखको परिवार हेटौंडास्थित सरकारी निवासमा आराम गरिरहेको छ । चिकित्सकको सल्लाहअनुसार रोग प्रतिरोधी शक्ति बढाउने खानेकुरा र तातोपानीसहित खानपानको व्यवस्थापन गरिएको पारिवारजनले जानकारी दिनुभएको छ ।