दैलेख । नेपाली काँग्रेसको केन्द्रिय विभागमा दैलेखबाट मनोनित भएका केन्द्रिय सदस्यहरुले पार्टीप्रति आभार प्रकट गरेका छन् । चामुण्डा विन्द्रासैनी नगरपालिका नगर कार्यसमितिद्वारा आयोजित केन्द्रिय विभागमा मनोनित सदस्यहरुलाई बधाई तथा शुभ–कामना आदान–प्रदान कार्यक्रममा बोल्दै मनोनित सदस्यहरुले निश्पक्ष ढंगबाट योगदानमा आधारित व्यक्तिहरुलाई दैलेख जिल्लाबाट मनोनित गरिएको भन्दै पार्टीप्रति आभार प्रकट गरेका हुन् ।
मनोनित तरुण विभागका केन्द्रिय सदस्य राजेश कुमार शाहीले पार्टीले आफुहरुलाई दैलेख जिल्लाबाट विवादरहित तरिकाले केन्द्रिय विभागहरुमा मनोनित गरेर जिम्मेवारी प्रदान गरेकामा खुशी व्यक्त गरे ।
‘हामीले पार्टीमा गरेको योगदानले नै आज यो स्थानसम्म पु¥याएको छ’ केन्द्रिय सदस्य शाहीले भने, ‘पदीय जिम्मेवारीमा रहेर पार्टीप्रति निष्ठावान हुँदै संगठन विस्तार निरन्तर लागि रहनेछौं । यसका लागि आम जिल्लावासी नेता–कार्यकर्ताको साथ अपरिहार्य रहनेछ ।’
यस्तै, नेपाली काँग्रेसकै विपद् व्यवस्थापन विभागका केन्द्रिय सदस्य भरत रिजालले पार्टीप्रति आफूले लगाएको लगावका आधारमा पदीय जिम्मेवार सुम्पिएको भन्दै धन्यवाद व्यक्त गरे ।
‘राजनीतिक यात्राको लगावबाट मलाई विपद् व्यवस्थापन विभागको केन्द्रिय सदस्य जस्तो गरिमामय पदमा मनोनित गरिएको छ’ केन्द्रिय सदस्य रिजालले भने, ‘मलाई यहाँसम्म सहयोग गर्ने गाउँ तहदेखि केन्द्रियस्तरका सबै नेता–कार्यकर्ताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’
नगर सभापति जगत शाहीको अध्यक्षतामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले पार्टीलाई बलियो बनाउन विभागीय केन्द्रिय सदस्यहरुको योगदान रहने भन्दै उनले समयलाई मध्यनजर गर्दै पदीय जिम्मेवारीलाई बहन गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा जनक भट्टराई, टंक रिमाल लगायतका पार्टीका नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता रहेको थियो ।