सुर्खेत । कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि वीरेन्द्रनगर नगरपालिकामा भदौ १ गतेदेखि निषेधाज्ञा जारी हुने भएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन समितिको विहिबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि भदौ ५ गते राती १२ बजेसम्म निधेषाज्ञा गर्ने निर्णय गरेको हो ।
सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढ्न थालेपछि तत्काल वीरेन्द्रनगरमा निषेषाज्ञा लागु गर्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । निश्चित समयसम्म मात्रै निषेधाज्ञा लागु गर्न लागिएकाले अत्यावश्यक र निर्माण योजनाहरु बाहेक अन्यमा क्षेत्र पूर्ण रुपमा बन्द गरिने रेग्मीको भनाई छ ।
वीरेन्द्रनगर बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड नअपनाएर पसल सञ्चालन गर्ने, भीडभाड धेरै गर्ने, पर्वहरुमा नाचगान र दर खान जाने प्रवृत्ती बढेकाले निषेधाज्ञा गर्नु परेको रेग्मीले उल्लेख गरे । ‘निषेधाज्ञाको क्रममा समस्यामा परेका व्यक्तिहरुलाई राहत तथा उद्धार गर्न अनुगमन समिति बनाएर परिचालन पनि गर्छौं’ प्रजिअ रेग्मीले भने, ‘समितिले सम्वन्धित ठाउँको आवश्यकताअनुसार त्यस्ता व्यक्तिहरुका मागलाई सम्बोधन गर्नेछ तर विगतको जस्तो मनमौजी गर्नेलाई कुनै छुट दिने छैनौं ।’
कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतसहित सेवाग्राहीको भीड हुने कार्यालयहरुमा यहीँ साउन २५ गतेबाट अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिसकेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले पनि साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए ।
सुर्खेतमा विहिबार मात्रै थप १८ जना संक्रमितहरु पुष्टी भएका छन् । पछिल्लो तीन दिनमा सुर्खेतका ६४ जना कोरोना पुष्टी भएका छन् ।