सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट शतप्रतिसत कार्यान्वयन गर्न मन्त्रीहरूसँग कार्यसम्पादन तथा मूल्यांकन करार सम्झौता गरेका छन् ।
मंगलबार कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षको योजना कार्यान्वयन तथा बजेट खर्चको बृद्धि गर्नका लागि कार्यसम्झौता तथा मुल्याङ्न करार सम्झौता गरेको मुख्यमन्त्री शाहीले बताए ।
‘गत आर्थिक वर्षमा हामीले ८०–८५ प्रतिशत कामको लक्ष्य लिएका थियौं तर ४८ प्रतिशत मात्र काम गर्न सक्यौं । त्यसैले चालु आवको कार्यसम्पादन करार सम्झौता गरेका हौं,’ मुख्यमन्त्री शाहीले भने, ‘काम सम्पन्न नगर्नुमा विभिन्न समस्या तथा चुनौतीहरु पनि थिए तर अब करार सम्झौता गरेपछि अनिवार्य आफ्नो मन्त्रालयको लक्ष्य पुरा गर्नै पर्छ । यदि तोकिएको काम पुरा नभएको कर्मचारी र मन्त्रीहरुको कार्यशैलीमा पनि हेरविचार हुन्छ ।’
मुख्यमन्त्रीले मन्त्रीसँग, मन्त्रीहरुले मन्त्रालयका सचिवसँग र सचिवले कार्यालय प्रमुखहरू कार्यसम्पादन करार सम्झौता भएको मुख्यमन्त्री शाहीलले बताए ।
कर्णाली प्रदेशमा बजेटको कार्यान्वयन पक्षको कार्यप्रगतिको साप्ताहिक रुपमा रिपोर्टीङ्ग गर्ने र अनुगमनलाई कडाई गर्ने, भौगोलिक विकटता, कर्मचारी अभाव र कोभिडले निम्त्याएका समस्याका बीच प्रदेश सरकारले उपलब्धि हासिल गर्नका लागि सबैसँग करार कार्य सम्झौता गरिएको शाहीले बताए ।