सुर्खेत । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले आयुर्वेद चिकित्साको साख जोगाउन अनुरोध गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा आयोजक पत्रकार सम्मेलनमा समाजले यस्तो अनुरोध गरेको हो ।
पछिल्लो समयमा सरकारले आयुर्वेद चिकित्सालाई मर्ज गर्ने गरि गरेको निर्णयप्रति आपत्ति जनाउँदै समाजले यस्तो अनुरोध गरेको हो । खर्च घटाउने नाममा स्वास्थ्य संस्थालाई मर्ज गरि आयुर्वेद चिकित्साको अस्तित्वलाई नामेट पार्ने योजनाका विरुद्धमा समाजले विभिन्न मागहरु समेत प्रस्तुत गरेको छ ।
समाजका कर्णाली प्रदेश अध्यक्ष दिपेन्द्र कंडेलका अनुसार कर्णाली प्रदेश सरकारले नेपालको चिकित्सा पद्धति (आयुर्वेद) को अस्तित्व नै मेटिने गरि गरेको निर्णय अविलम्ब खारेज गर्नुपर्ने, कर्णाली प्रदेशका जडिबुटीय सम्पदामा अन्य प्रदेश भन्दा सम्पन्न भएकोले त्यसको उपलब्धीका लागि आयुर्वेद आवश्यक रहेको, आपसमा बाझिने संयन्त्रहरु एउटै कार्यालयबाट संचालन हुन नसक्ने भएकोले स्वतन्त्र अस्तित्वको आवश्यक भएकोले निर्णय सच्याउन माग गरिएको छ ।
त्यस्तै, आयुर्वेद चिकित्सा पूर्विय दर्शनको धरोहर भउकोले विश्वव्यापीकरण प्रभावसँगै पश्चिमा संस्कृतिको गलत अभ्याससँगै मौलिक कला, संस्कृतिसँगै चिकित्सा पद्धतिमा पनि विनाश हुनेगरि आक्रमण भएको, आयुर्वेदलाई फरक व्यवहार गरिएको, आयुर्वेदलाई अभिभावक विहिन बनाएकोले त्यस्तो कार्य नगर्न र गरेका निर्णयहरु समेत सच्चाउन मागहरु गरेका छन् ।
यदि आफ्ना मागहरु पूरा नभएको खण्डमा चरणवद्ध रुपमा आन्दोलन गर्ने र आन्दोलनबाट उत्पन्न हुने समस्याको जवाफदेही कर्णाली प्रदेश सरकार हुने अध्यक्ष कंडेलले बताए ।