जाजरकोट । उपचारमा ढिलाई हुँदा जाजरकोट जिल्लाको कुशे गाउँपालिका–५ बाटुलेकी एक महिलाको मृत्यु भएको छ । २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घण्टापछि मृत्यु भएको हो । सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा मृत्यु भएको हो ।
बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।
पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ। पशुपतिका श्रीमान् अमृतका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।