सुर्खेत । कर्णाली प्रदेशमा कम्तिमा एक महिना लकडाउन हुन सक्ने संकेत देखिएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गरिएको पत्रकारहरुसँगको कुराकानीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले लक्षण सहितका कोरोना संक्रमित थपिदैं गए कम्तिमा २५–३० दिनसम्म मात्रै भएपनि लकडाउन गर्नुपर्ने बताएका हुन् ।
‘कोरोना संक्रमण फैलिन नदिनको लागि सबैभन्दा उत्तम उपाय नै लकडाउन भएकोले कम्तिमा २५–३० दिनसम्म भएपनि लकडाउन गर्नुपर्ने देखिन्छ’ मुख्मन्त्री शाहीले भने, ‘हालसम्म लक्षण सहितका कोरोना संक्रमित कर्णालीमा देखिएका छैनन् । देखिन सुरुवात भएमा प्रदेश सरकारले लकडाउन गर्ने निर्णय लिनसक्छ ।’
कुराकानीमा प्रदेश सरकारले भारत वा अन्य प्रदेशबाट आउने नागरिकलाई पीसीआर जाँचपछि मात्र कर्णाली प्रवेश गराउने बताए ।
‘प्रदेशका विभिनन सिमानाका शिल गरिनेछ’ मुख्मन्त्री शाहीले भने, ‘काठमाडौंको थानकोटमा मात्रै पिसिआर गरेपनि अब प्रदेश सरकारले बबई नाकामा पिसिआर परिक्षण गरेरमात्र यस प्रदेशमा भित्रिन दिइनेछ ।’
कर्णालीमा हालसम्म लक्षणसहितको कोरोना संक्रमित नदेखिएको दावी गरेका छन् । ‘संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई संक्रमण देखिएको छ,’ उनले भने, ‘अब भाइरस सक्रिय बनेको अवस्था छ । संक्रमण समुदायमा फैलिनेतर्फ सरकार सचेत रहन आवश्यक देखिन्छ ।’
मुख्यमन्त्री शाहीले अब प्रदेशभित्रै पनि विभिन्न समयमा भीडभाड गर्न नदिने बताए । ‘भाइरस पूरै नियन्त्रण गर्न कठिन छ,’ उनले भने, ‘भाइरसको संक्रमण कम गर्न नागरिक सबै सचेत हुन आवश्यक छ ।’
प्रदेश सरकारले १० वटै जिल्लामा अक्सिजन प्लान्ट राख्नका लागि तयारी गरिरहेको मुख्यमन्त्री शाहीले जानकारी दिए । परीक्षण किट अभाव हुन नदिने भन्दै उनले हरेक जिल्लामा आइसोलेसन र भेन्टिलेटर पनि थप गरिने जनाए । हरेक जिल्लामा १/१ सय बेडको आइसोलेसन राख्न सके उपचारमा सहज हुने उनको भनाइ छ ।
‘पालिकास्तरमा पनि ५०/५० वेडको आइसोलेसन थप गर्न पैसा पठाएका छौं,’ उनले भने, ‘सके सबै स्थानीय तहमा नत्र २/३ वटा स्थानीय तहको केन्द्र पर्ने स्थानमा आइसोलेसन स्थापना गरिनेछ ।’