दैलेख । जंगली जनावर दुम्सी खाेज्न दुलाेमा पसेका एक व्यक्तिकाे ढुंगाले च्यापिएर मृत्यु भएकाे छ । नारायण नगरपालिका ११ विन्ध्यवासिनीका ३२ वर्षीय रेशमबहादुर विष्टकाे बिहिवार मृत्यु भएकाे छ।
विन्ध्यवासिनीको जुफिया चौवारी भन्ने ठाउँमा दुम्सी दुलोभित्र पसेको बेला माथिबाट खसेकाे ढुङ्गाले च्यापिएर उनकाे घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
दुलोभित्र गइसकेपछि माथिबाट माटो खस्न थालेपछि दुलोमा पसेका अर्का खड्कबहादुर विष्टले भने बाहिर निस्किएर ज्यान जाेगाएकाे थिए ।
दुलोभित्रै च्यापिएको डेढ घण्टापछि स्थानीय र लोहोरे प्रहरी चौकीका सुरक्षाकर्मीले मृतकको शव बाहिर निकालेका थिए । मृतकको शव पोस्टमार्टमकाे लागि दैलेख जिल्ला अस्पताल पठाइएकाे छ ।
मृतक रेशमबहादुर विष्ट नौमूले गाउँपालिका ७ काे पैतीमा रहेकाे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडागाउँमा प्राथमिक तहको स्थायी शिक्षकको रुपमा अध्यापन गर्दै आएका थिए।