काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय टिमको तयारी सुरु गरेको छ । यसका लागि सहभागी हुने खेलाडीलाई क्वारेन्टाइनमा राख्ने भएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरका अनुसार भदौ १ बाट टिमको प्रशिक्षण सुरु हुनेछ र यसअघि खेलाडीले अनिवार्य क्वारेन्टाइन अवधि पार गरेको हुनु पर्नेछ ।
प्रशिक्षणमा सहभागी हुनेको पीसीआर परीक्षण पनि गरिनेछ । क्वारेन्टनाइनका लागि एन्फाले आफ्नो सातदोबाटोकै भवन प्रयोग गर्नेछ । मन्त्रीपरिषदको बैठकले मंगलबार अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न र प्रारम्भिक प्रशिक्षण सुरु गर्न अनुमति दिएपछि एन्फाले पनि आफ्नो विश्वकप छनोटको तयारी सुरु गरेको हो ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण विश्वकप छनोटको यसअघिको कार्यक्रम स्थगित गरिएको थियो । नेपालले विश्ककप छनोटका आफ्ना तीन खेल खेल्न बाँकी छ र ती सबै खेल दशरथ रंगशालामा हुनेछन् । अहिलेसम्म नेपालले समूह बी को छनोटका चार खेल खेलेकोमा एकमा जित निकालेको छ भने तीनमा पराजित रहेको छ ।