कालिकोट । कृषि विकास कार्यालय कालीकोटले कार्य सम्पन्न नभएकै भुक्तानी दिएको पाइएको छ । जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा नं ५ मा रहेको कालीका प्रारम्भिक उत्पादन कृषक समुहलाई कृषि विकास कार्यालयले कार्य सम्पन्न नभएरै २२ लाख ८ हजार रकम भुक्तानी दिएको हो । सान्नीत्रिवेणी गाउँपालिकालाई अर्गानीक नमुना गाउँ कार्यक्रम अन्तरगत कृषि विकास कार्यालयको कुल २२ लाख ४२ हजारको योजनामा कृषि विकास कार्यालयले २२ लाख ८ हजार ३ सय ७० रुपैयाँ भुक्तानी दिएको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारका मार्फत संचालित योजनामा कार्य सम्पन्न नभएरै कृषि विकास कार्यालयले भुक्तानी दिएको हो । कृषि विकास कार्यालयको चरम लार्पबाहीले कालीकोट जिल्लामा संचालित अधिकांश योजना अहिलेसम्म पनि सम्पन्न भएका छैनन् तर ती योजनाको भुक्तानि भने असार ३१ गतेभित्र भईसकेको छ । अर्गानीक नमुना गाउँ कार्यक्रम अन्तरगत काम नभएर नै रकम भुक्तानी दिएको सान्नित्रिवेणी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष नरेश बमले बताए ।
वडाध्यक्षको किर्ते हस्ताक्षर
सान्नित्रिवेणी गाउँपालिका वडा नं ५ मा रहेको कालीका प्रारम्भिक उत्पादन कृषक समुहका अध्यक्ष ललिजन बमले वडाध्यक्ष नरेश बमको किर्ते हस्ताक्षर गरेर लाखौ रकम भुक्तानी लिएका छन् ।
योजना सम्पन्नका लागि वडाध्यक्षले सिफारिस गर्नु पर्ने भएपनि कृषक समुहका अध्यक्ष बमले गाउँपालिकाको सिफारिसमा वडाध्यक्ष नरेश बमको किर्ते हस्ताक्षर गरि २२ लाख ८ हजार ३ सय ७० भुक्तानी लिएका हुन् । वडाध्यक्षलाई पटक पटक सिफारिसका लागि आग्रह गर्दा नगरिदिएपछि आफुले किर्ते हस्ताक्षर गरेर रकम भुक्तानी लिएको बमले बताए । उनले भने ‘वडाध्यक्ष नरेश बमले सिफारिस दिनका लागि योजनाको १० प्रतिशत रकम मागेपछि आफुले दिन नसक्ने भएकाले किर्ते हस्ताक्षर गरेको हुँ ।’
आफुसंग १० प्रतिशत मागेको कुनै पनि प्रमाण नभएको तर बाटोमा वडाध्यक्षले १० प्रतिशत दिने भए सिफारिस दिने भनेको बमको आरोप छ । उनले भने ‘अहिले वडाध्यक्षले किर्ते हस्ताक्षर गर्यो भने पनि उनले वडामा दिने अधिकाँश सिफारिस किर्ते नै हुने गरेका छन् ।’ यता वडाध्यक्ष नरेश बमले आफुले कुनै पनि उपभोक्ता समितिबाट रकम नमागेको बताए । उनका अनुसार कालीका प्रारम्भिक उत्पादन कृषक समुहले कार्य सम्पन्न नगरेरै सिफारिस माग्न आएकाले आफुले नदिएको बताए ।
बमले भने, ‘त्यो योजनाको अहिले पनि कार्य सम्पन्न भएको छैन, यदि कृषक समुहबाट मैले कमिशन मागेको प्रमाण कृषक समुहले पेश गर्न सकेमा जुनसुकै कार्वाही भोग्न तयार छु ।’ केही समयपछि कृषक समुहका अध्यक्ष ललिजन बमले आफुले वडाध्यक्षले कुनै पनि रकम नमागेको आफुले सिफारिस नदिएको आभेषमा झुटो आरोप लगाएको अन्तमा आएर बताए ।
यता वडाध्यक्ष नरेश बमले आफ्नो किर्ते हस्ताक्षर र सरकारी सहि छापको दुरुपयोग गरेकाले कृषि विकास कार्यालयका कर्मचारी र कृषक समुहका पदाधिकारीका लागि अदालतमा मुद्धा दिने जनाएका छन् । कार्य सम्पन्न नभएको योजनाको अनुगमन रिपोटमा सान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले कार्य सम्पन्न भएको भन्दै अनुगमन रिपोट पेश गरेर भुक्तानि दिन सिफारिस गरेका छन् ।
सामाग्री नआएकै भुक्तानी
कृषि विकास कार्यालयले अर्गानीक नमुना गाउँ कार्यक्रम अन्तरगत चाहिने सामाग्री नआएकै भुक्तानी दिएको छ । कालिकोट जिल्लामा संचालित अधिकाँश योजनाको सामाग्री नआएरै कृषि विकास कार्यालयले भुक्तानी दिएको छ । कतिपय योजनाका सामाग्री बाटोमा नै थन्किएका छन् तर ती योजनाको पुरा भुक्तानी कार्यालयले दिएको छ । कृषि विकास कार्यालयका प्रमुख भरत बस्नेतले लकडाउनका कारण अधिकांश योजनाको अनुगमन गर्न नसकेको जनाए । उनले भने, ‘हामीलाई पनि थाहा छ कुनै पनि योजनाको कार्य सम्पन्न भएको छैन तर पनि हामीले भुक्तानी दिनुपर्ने बाध्यता भयो ।’
यसरी कृषि विकास कार्यालय कालीकोट मार्फत संचालित योजना सम्पन्न नहुर्दै भुक्तानी दिनु पर्ने बाध्यतालाई आर्थिक मिलेमतो भएको अनुमान गर्न सकिन्छ । गत वर्षपनि यस कार्यालय मार्फत आएका योजनाहरुमा व्यापक अनियमितता भएपछि कृर्षि तथा सहकारी मन्त्रालयले, कडा निगरानि थालेपनि यस वर्षपनि अधिकांस योजनाहरुमा कार्यालयको र उपभोक्ता समितिको मिलोमतोमा कार्यसम्पन्न नभएकै भुक्तानी दिँदा यस्तो आरोप लाग्ने गरेको छ । यस्तै शान्नि त्रिवेणिमा मात्र होइन, जिल्लाको महावै गाउँपालिकाका योजनाहरुमा पनि कृर्ते हस्ताक्षर गरी कार्यालयले भुक्तानी दिएको गुनासो आएको छ ।