सुर्खेत । प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले पाएकाे प्राेत्साहन भत्ताबाट छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका छन् ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीका बेला फ्रन्टलाइनमा रहेर काम गरेका डा. केसीलाई प्रदेश सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराएको थियो । छिमेकी किसानले भैंसी किन्दा लागेको ऋण तिर्न नसकेर समस्यामा परेको थाहा पाएपछि सोही रकमले तिरिदिएको डा. केसीले भनाइ छ ।
किसान कृष्णबहादुर खत्रीले दूध बेचेर ऋण तिर्ने सोचले भैंसी किनेको तर त्यसअनुसार आम्दानी नभएकाले समस्यामा परेको सुनाए । ‘भैंसी किन्दा ७० हजार ऋण ल्याएको थिएँ, बढेर डेढ लाख पुगेछ । अहिले डाक्टरले तिरिदिनुभयो,’ उनले भने, ‘डाक्टर बाबुलाई धन्यवाद बाहेक के दिन सक्छु र ।’
डा. केसी लामो समयदेखि सामाजिक कार्यमा पनि सक्रिय छन् । उनले कर्णालीका दुर्गम गाउँमा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । उनकै अगुवाइमा प्रदेश राजधानी वीरेन्द्रनगरलाई सफा र हरियाली बनाउन ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियान चलिरहेको छ ।