सुर्खेत । बाख्रा पालन गरिरहेका कृषकलाई उन्नत जातको बोका वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ दुल्लूद्वारा आइतबार बोयर जातको उन्नत बोका वितरण गरिएको हो ।
दैलेख जिल्लाका चारवटा स्थानीय तहलाई बाख्रा जोन छनौट गरिएको छ । जसमध्ये नारायण नगरपलिकाको ४ र १० नम्बर वडा, महाबु गाउँपालिकाको ३,४,५ र ६ नम्बर वडा, भैरवी गाउँपालिकाको ६ र ७ नम्बर वडा छनौट गरिएको छ भने चामुण्डा विन्द्रासैनी नगरपालिकाको १ र ३ नम्बर वडा छनौट गरिएको छ ।
जिल्लामा छनौट भएका स्थानहरुबाट माग भएअनुसारका समुह, सहकारी र फर्महरुलाई बोका वितरण गरिएको इकाईका कृषि विकास अधिकृत राजु भुजले जानकारी दिए ।
आइतबार दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीद्वारा १५ वटा बोका कृषकलाई हस्तान्तरण गरिएको हो ।
‘भैरवी गाउँपालिकामा १० वटा, चामुण्डा विन्द्रासैनी नगरपालिकामा ४ वटा र महाबु गाउँपालिकामा १ वटा बोका वितरण गरिएको हो’ अधिकृत भुजले दुल्लूखबरसँग भने, ‘महाबु गाउँपालिका वडा नम्बर ३ बाट १० वटा र भैरवी गाउँपालिका वडा नम्बर ६ बाट ५ वटा बोका खरिद गरिएको थियो । सोही बोका कृषकलाई ५० प्रतिसत अनुदानमा वितरण गरिएको हो ।’
उनका अनुसार ८ सय रुपैयाँ प्रतिकेजिमा खरिद गरिएको बोकाको मुल्यमा ४ सय रुपैयाँ कृषकले तिरेका हुन् ।
बाख्रा उत्पादन भैरहेको क्षेत्रमा बजारीकरण र उत्पादनमा बृद्धि गर्ने उद्देश्यले उन्नत जातको बोका वितरण गरिएको अधिकृत भुजले बताए ।
‘यसै आर्थिक वर्षमा बजारीकरणमा सहज बनाउन गाडी खरिद गर्ने र तीन वटा संकलन केन्द्र स्थापना गर्ने योजना थियो’ अधिकृत भुजले भने, ‘बन्दाबन्दीको कारण योजना अनुसार काम गर्न पाएनौं । आगामी आर्थिक वर्षमा निरन्तरता दिने छौं ।’
दैलेखमा तीनवटा जोन
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई दुल्लूले हालसम्म दैलेखमा तीनवटा जोन स्थापना गरेको छ । इकाईले सुन्तला जोन, आलु जोन र बाख्रा जोन संचालनमा ल्याएको हो ।
जिल्लामा सुन्तला जोन अन्र्तगत दुल्लू नगरपालिका र भैरवी गाउँपालिका रहेका छन् भने आलु जोन अन्र्तगत गुराँस गाउँपालिकाका ३, ४, ५, ६, ७ र ८ नम्बर वडा र डुंगेश्वर गाउँपालिकाका २, ३ र ५ नम्बर वडा रहेका छन् ।
त्यस्तै बाख्रा जोन कार्यक्रम अन्र्तगत नारायण नगरपलिकाको ४ र १० नम्बर वडा, महाबु गाउँपालिकाको ३, ४, ५ र ६ नम्बर वडा, भैरवी गाउँपालिकाको ६ र ७ नम्बर वडा रहेको कृषि विकास अधिकृत राजु भुजले जानकारी दिए ।
‘आर्थिक वर्षको सुरुवातमा विभिन्न जोनका लागि सूचिकृत हुन आह्वान गरिन्छ । सोही अनुसार सूचिकृत भएका समुह, सहकारी र फर्महरुका बीचमा ९ सदस्यीय जोन संचालक समिति गठन गरिन्छ’ अधिकृत भुजले भने, ‘उक्त समितिले माग गरे अनुसारका योजना छनौट गरि कार्यान्वयनमा ल्याइन्छ ।’
उनका अनुसार आलु जोन कार्यक्रम अन्र्तगत ५ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको छ भने ६ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।