दैलेख । प्रस्तावित गुराँस अस्पतालको भवन शिलान्यास गरिएको छ । दैलेखको गुराँस गाउँपालिका स्थित रानिमत्तामा ४ कोठे भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गरेका हुन् ।
कोरोना विपद्लाई मध्यनजर गर्दै तत्कालै संचालनमा ल्याउने प्रक्ष्येपणका साथ आज भवन शिलान्यास गरिएको अध्यक्ष वलीले जानकारी दिए ।

कोरोनाको संकटमा गाउँपालिकाका नागरिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न भवन संचालनको तयारी गरिएको अध्यक्ष वलीको भनाई छ ।
‘जनताको स्वास्थ्य सुरक्षाको जिम्मेवार सरकारले लिनुपर्छ त्यसका लागि हामी निरन्तर लागिरहेका छौं’ अध्यक्ष वलीले दुल्लूखबरसँग भने, ‘अबको केही दिनमै भवन निर्माण कार्य सम्पन्न गरि कोरोनाबाट नागरिकलाई जोगाउन आईसुलेसन वार्ड स्थापना गर्ने छौं ।’
अध्यक्ष वलीका अनुसार उपभोक्ता समितिमार्फत ४५ लाखमा उक्त ४ कोठे भवन निर्माण गर्न लागिएको हो ।