सुर्खेत । आत्महत्या गरेका दैलेखका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान घर नजिकै झुण्डिएको अवस्थामा भेटिएका दुल्लु नगरपालिका-१० का २१ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार नै युवकको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको थियो । अस्पतालले पीसीआर जाँच नगरी पोष्टमार्टम गर्न नमानेपछि स्वाब संकलन गरी सुर्खेत पठाइएकोमा बिहीबार रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए ।
गत जेठ ११ गते भारतबाट दैलेख आइपुगको युवक पञ्चकोसी माध्यामिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टिनमा बसेका थिए ।
उनीसँगै क्वारेन्टिनमा बसेका २११ जनाको आरडीटी परीक्षण नेगेटिभ आएपछि घर पठाइएको नगरपालिकाको वडानम्बर १० का अध्यक्ष हर्क खड्काले बताए ।
एकजना थपिएसँगै दैलेखमा मात्रै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ भने कर्णालीमा ६ पुगेको छ । यसअघि सुर्खेतमा दुईजना, दैलेखमा दुईजना र डोल्पामा एकजनाको मृत्यु भइसकेको छ।