सुर्खेत । कोभिड–१९ को महामारीकै क्रममा वाँकेमा भएको दुर्घटनाको पिडा सकिन नपाउदै आज विहान कालिकोट जिल्ला सान्नीत्रिवेणी गाउँपालिका वडा नं. १ मा भएको सडक दुर्घटनाप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले गहिरो दुःख व्यक्त गरेका छन ।
कोभिड–१९ले निम्त्याएको समस्याका कारण विभिन्न ठाउँबाट घर फर्किने क्रममा लालीघाटबाट रास्कोट जाँदै गरेको ३९ जना सवार टिप्पर दुर्घटना हुँदा अहिलेसम्म २ जनाको दुःखद निधन भएको, ६ जना वेपत्ता रहेको, ४ जना गम्भीर घाईते रहेको र २७ जना सकुशल सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा भएको उक्त दुर्घटनावाट भएको मानवीय क्षतिप्रति माननीय मुख्यमन्त्रीज्यू निकै स्तव्ध भएकाे बताए । उनले उक्त दुर्घटनामा निधन भएका सवैप्रति भावपुर्ण श्रद्धाञ्जली एवं शोकमा रहेका परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गरे ।
दुर्घटनाका कारण सम्वन्धित घरपरिवारमा पर्नगएको पिडाप्रति माननीय मुख्यमन्त्रीज्यूले सहानुभुति प्रकट गर्नुको साथै दुर्घटनामा परि घाईते भएका सवैको सिघ्र स्वास्थ्यलाभको कामना गरे ।
अकल्पनीय र पिडादायी दुर्घटनामा घाईतेहरुको उपचारको लागि हेलीकोप्टर मार्फत उद्धार गर्न र वेपत्ताहरुको खोजीकार्यको लागि मुख्यमन्त्रीले आवश्यक व्यवस्था मिलाउनुको साथै सम्वन्धित निकायलाई निर्देशन भईसकेको मुख्यमन्त्रीकाे प्रेश सल्लाहकार धुव्रविक्रम बुढाथाेकीले बताए ।
मुख्यमन्त्रीले घाईतेहरुको प्रभावकारी उपचार व्यवस्था मिलाईने प्रतिवद्धता समेत व्यक्त गरे । दुर्घटनाको खवर पाउने वित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं सुचना संप्रेषण गर्ने संचारकर्मीहरुलाई मुख्यमन्त्रीले धन्यवाद दिएका छन् ।