दैलेख । पिसिआर मेशिन खरिदका लागि नारायण नगरपालिकाले टेण्डर आह्वान गरेको छ । कोरोना परिक्षणको दायरा कम भएको भन्दै नगरपालिकामै पिसिआर मेशिन संचालनमा ल्याउन टेण्डर आह्वान गरेको हो ।
नगरपालिकाबाट पिसिआर परिक्षणका लागि पठाइएका स्वावको धेरैदिनसम्म पनि सबै परिक्षण प्रतिवेदन नआएको नारायण नगरपालिकाका नगरप्रमुख रत्न बहादुर खड्काले बताए ।
‘पिसिआर परिक्षणका लागि यसअघि पठाएका सबै स्वावको परिक्षण प्रतिवेदन आएको छैन’ नगरप्रमुख खड्काले दुल्लूखबरसँग भने, ‘करिब १ हजार ५ सय स्वाव नतिजा नआएर सुर्खेतको डिफ्रिजमा थन्किएका छन् । परिक्षणको दायरा कम हुँदा झनै स्थिति भयावह बन्ने खतरा देखिएकोले तत्कालै नगरले मेशिन खरिदका लागि आह्वान गरेको हो ।’
यतिवेला विपद्को समय भएको भन्दै सार्वजनिक खरिद ऐन अन्र्तगत आपतकालिन् सूचना मार्फत खरिद गर्न लागिएको उनले बताए ।
‘पैसा राज्यको हो । नागरिक बचाउने जिम्मेवारी पनि राज्यको नै हो’ नगरप्रमुख खड्काले भने, ‘आवश्यक बजेट रकमान्तर गरेर मेशिन खरिद गरि नागरिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न खोजिएको हो ।’
संघिय सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रम अनुसार बचत भएको रकमबाट नारायण नगरपालिकाले मेशिन खरिद गर्न लागिएको उनले जानकारी दिए । उक्त कार्यक्रम अनुसार दैलेख बजार–महाबु–कालिकोट सडक निर्माणका लागि ५ करोड ९४ लाख ६० हजार रकम विनियोजित भएको थियो । सो योजनामा टेण्डर घटाघट भई १ करोड ८ लाख ८४ हजार ४ सय ४१ रुपैयाँ बचत भएको नगरप्रमुख खड्काले बताए ।
उनका अनुसार सोही बचत रकमबाट पिसिआर मेशिन खरिद गरिनेछ । उक्त मेशिन खरिद प्रक्रियाका लागि जिल्ला समन्वय समितिको सिफारिसमा प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्मा र पार्वती विसुन्केद्वारा अनुमति प्राप्त भईसकेको उनले जानकारी दिए ।
पिसिआर मेशिन संचालनको लागि जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारको कमी भएमा नीजि तथा सार्वजनिक भवनमा संचालन गरिने नगरप्रमुख भण्डारीको भनाई छ ।
‘हालको लागि जिल्ला अस्पतालमा आवश्यक भौतिक संरचनाको अभाव हुनसक्ने आंकलन गरिएको छ । त्यसैले मेशिन खरिद भईसकेपछि प्राविधिकले भनेअनुसार तत्कालको लागि कुनैपनि निजी तथा सार्वजनिक भवनहरुमा संचालन गरिने छ’ नगरप्रमुख खड्काले भने, ‘जिल्ला अस्पतालमा आवश्यक भौतिक पूर्वाधार र जनशक्तिका लागि संघिय सरकारसँग माग गरिनेछ ।’
टेण्डर आह्वानको सूचना :