सुर्खेत । कर्णाली प्रदेश सरकारले कोभिड–१९ प्रतिकार्यका लागि व्यवस्थापनमा लार्पवाही गरेको बताइएको छ । प्रमुख प्रतिपक्षी दलका नेता जीवन बहादुर शाहीले नागरिकको स्वास्थ्य सुरक्षामा खेलवाड गर्दै व्यवस्थापनमा उचित ध्यान नदिएको आरोप लगाएका हुन् ।
करिब २ महिना बन्दाबन्दीको लामो समयसम्म पनि सम्भावित जोखिमको पूर्वतयारी नगर्दा थप चुनौती खडा भएको नेता शाहीको भनाई छ ।
‘समय पाउदा समेत आउनसक्ने सम्भावित जोखिमको एनालाईसिस गरी सोही अनुसारको तयारी सरकारले गर्न सकेन ।’ शाहीले भने, ‘क्वारेन्टाइन, आइसुलेसन लगायतको व्यवस्थापन यसरी गरौं भन्ने खालका विभिन्न सुझावहरु दिदा समेत कार्यान्वयन गरिएन ।’
कुनैपनि कार्यविधि नै नबनाई डिसिसि/एमसिसिका नाउँमा ५०/५० लाख रुपैयाँ जिल्लामा पठाएको शाहीको भनाई छ ।
‘भारत र अन्य प्रदेशबाट आउने नागरिकको सिमानाकामै आरडिटी र आरटिपिसिआर परिक्षण गरिनुपथ्र्यो’ शाहीले दुल्लूखबरसँग भने, ‘नागरिकको ओसार–पसार गर्दा सम्बन्धित पालिकासँग समन्वय गरि आवश्यक बजेट पठाउनु पथ्र्यो ।’
भारतमा रहेका कर्णाली प्रदेशका नागरिक करिब २ लाख ५० हजार भन्दा कम नभएको भन्दै उनले कम्तिमा १ लाख नागरिक यो प्रदेशमा आउन सक्ने बताए । त्यसका लागि प्रदेश सरकारले पूर्व तयारी अपनाउनुपर्ने उनको भनाई छ ।
‘भारतबाट आएर बाटोमा अलपत्र परेका व्यक्तिहरुलाई विस्कुट, चाउचाउ र पानी दिएर नाटक गरिएको छ ।’ शाहीले भने, ‘नागरिकको खाना, सुरक्षाको व्यवस्था खोई ? यसरी बाटोमा चाउचाउ पानी दिनभन्दा, सरकारले सहयोगीहरुबाट प्राप्त राहत संकलन गरी व्यवस्थित खानपिन गर्नुपर्ने होइन ?’
प्रदेश सरकारले राजधानी सुर्खेत भएकोले पनि यहाँ कम्तिमा ५ सय वेडको आइसुलेसन वार्डको स्थापना गर्नुपर्ने नेता शाहीको भनाई छ ।