काठमाडौं । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।
अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले नेपालमा थप १ सय ८५ जना पुरुष र ४ जना महिलामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १ सय २४ जनाको पोजेटिभ आएको छ । प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २६ जनाको पोजेटिभ आएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा ३ जनामा पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनामा पोजेटिभ देखिएको छ ।
विराटनगरको कोसी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप २ जनामा पोजेटिभ आएको छ । कुल १ हजार ४ सय १ पुगेको छ । १ हजार २ सय ८८ जना पुरुष र १ सय १३ जना महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म ६६ हजार ७ सय २९ नमुनाको परीक्षण गरिएको छ । त्यसैगरी १ लाख ७ हजार ५५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।
२४ घण्टाको अवधिमा पीसीआर विधिबाट २ हजार ५ सय ७५ नमुनाको परीक्षण गरिएको छ । १ हजार ५ सय ७७ आरडीटी विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म १ लाख १० हजार ७८ जना देशका विभिन्न स्थानामा रहेका क्वारेन्टाइमा रहेका छन् । सम्भावति संक्रमित र संक्रमित गरी १ हजार १ सय ७६ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज डिस्चार्ज हुनेको संख्या १३ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले बताए । उनका अनुसार टेकु अस्पतालबाट २ जना डिस्चार्ज भएका छन् । बलम्बुको कोभिड–१९ युनिफाइड अस्पतालबाट ११ जना पनि आजै डिस्चार्ज भएका छन् । डिस्चार्जको हुनेको संख्या २ सय १८ पुगेको छ ।