दैलेख (महाबु) । जिल्लाको महाबु गाउँपालिकाले छिमेकी मुलुक भारतमा अलपत्र परेका तीन सय पाँच जनालाई उद्दार गरि गाउँपालिका ल्याएको छ । भारतमा अलपत्र परि सम्पर्कमा आएका उनिहरुलाई विशेष पहलमा गाउँपालिका ल्याइएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए ।
गाउँपालिकाबाट विभिन्न कामको शिलसिलामा भारत गएका करिव २ हजार नागरिकलाई गाउँपालिका ल्याउने तयारी भएको उनले जानकारी दिए ।
शुक्रबारमात्रै तीन सय पाँच जनालाई गाउँपालिका ल्याई क्वारेन्टीनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश दशौदीले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाको वडा नम्बर १ खरिगैरास्थित जयन्ती मावि खरिगैरामा एक सय २३ जना, वडा नम्बर २ वडाखोलास्थित जगदीश माध्यामिक विद्यालयमा ४३ जना र गाउँपालिकाको वडा नम्बर ३ बासिस्थित मालिका माध्यामिक विद्यालयमा एक सय १२ जनालाई क्वारेन्टीनमा राखिएको छ ।
गाउँपालिकाले सम्बन्धित वडाको वडाअध्यक्षको संयोजकत्वमा भारतबाट फर्किएकाहरुलाई सोही वडाको क्वारेन्टीनमा राख्ने निर्णय गरेको छ ।
वडाअध्यक्षको संयोजकत्वमा गठित उक्त समितिले क्वारेन्टीनमा बसेका नागरिकहरुको खाना–बस्न लगायतका अन्य व्यवस्था गर्ने बताइएको ।
हाल क्वारेन्टीनमा बसेका उनिहरु भारतको हिमाञ्चल प्रदेश, उत्तराखण्ड र गुजरातबाट आएको स्वास्थ्य शाखा प्रमुख दशौदीले बताए । उनिहरुका लागि कोरोना भए वा नभएको पत्ता लगाउन पिसिआर परीक्षणका लागि पहल गरिएको प्रमुख दशौदीले जानकारी दिए ।
स्थानीय सरकारले उद्दार गरी क्वारेन्टीनमा राख्ने व्यवस्था गरेपनि विभेदपूर्ण व्यवहार गर्ने गरेको क्वारेन्टीनमा बसेको स्थानीय हुकुम सिहंले बताए । ‘सरकारले हाम्रै लागि क्वारेन्टीन बस्ने व्यवस्था गरेको हो, तर यहाँका व्यवस्थापक र स्वयंम्सेवकहरुको व्यवहार विभेद्पूर्ण छ ।’ सिंहले भने, ‘भारतका विभिन्न स्थानबाट आएकाहरु सबैलाई एकै ठाँउमा राखिएकोले हामीलाई असुरक्षित महसुस भएको छ, यो भन्दा हामी होम क्वारेन्टीनमै सुरक्षित बस्न सक्छौं ।’