नयाँ दिल्ली (भारत) । कोरोना भाइरस नियन्त्रण गर्न लामो समयदेखि लागू गरिएको लकडाउनका कारण उत्पन्न समस्या कम गर्न भारतले २०० खर्ब रुपया (२ खर्ब ६४ अर्ब डलर) बराबरको आर्थिक प्याकेज ल्याएको छ ।
यी उपायहरुले कृषक एवम् साना व्यवसायहरुलाई टेवा दिने टेलिभिजन सम्बोधनमा बोल्ने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका हुन् । यो प्याकेज भारतको कुल गाहस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा १० प्रतिशत हो । प्याकेज भारतले अहिलेसम्म ल्याएको मध्ये सबैभन्दा ठूलो राहत हो ।
बन्दाबन्दीका कारण आफ्नो काम र व्यवसाय गुमाएका मानिसहरुलाई लक्षिण गरेर प्याकेज ल्याइएको हो । यस प्याकेजबारे अर्थमन्त्री निर्मला सितारमणले आगामी केही दिनभित्र बताउने छिन् । लकडाउनका बीच पनि भारतमा कोरोना संक्रमण दिनँहु बढ्दै गइरहेको छ ।
‘प्याकेज भूमि, श्रम, तरलता र कानूनमा केन्द्रीत हुनेछ, यसले कूटीर उद्योग, साना तथा मझौला व्यवसाय, मजदूर, मध्यम वर्ग, उद्योग लगायत विभिन्न हिस्सालाई समेट्ने छ,’ सम्बोधनमा मोदीले भनेका छन् । उनका अनुसार घरभित्रै बस्ने कडा आदेश मे १७ पछि पनि नयाँ नियमका साथमा लम्ब्याइनेछ ।
मार्च २५ यता भारत लकडाउनमा छ । यसका कारण आर्थिक गतिविभि ठप्प भएको छ छ भने करोडौं भारतीय र आप्रवासी कामदारहरुले काम गुमाएका छन् । मार्चमा सरकारले गरिब जनतालाई लक्षित गरेर प्रत्यक्ष नगद स्थानान्तरण र खाद्य सुरक्षा लगायत विविध उपायका लागि १७ खर्ब रुपया बराबरको राहत प्याकेज दिने बताएको थियो ।
तर यी उपायहरु हात्तिको मुखमा जिरा भएको भन्दै सरकारको चर्को आलोचना भएको थियो । अन्य ठूला अर्थतन्त्रका तुलनामा भारत निकै पछाडि थियो । आवश्यक परेको बेलामा सरकारले चालेको पछिल्लो कदमको विज्ञहरुले स्वागत गरेका छन् । सरकारले एसएमईहरुको कर्जा माफी, जीएसटी दरमा कटौती लगायत उपायहरु पनि ल्याउन सक्ने विश्लेषण गरिएको छ । एजेन्सी