रियाद (साउदी अरब) । कोरोना भाइरसको महामारीको चपेटामा परेको अर्थतन्त्रलाई टेवा दिन साउदी अरबले मूल्य अभिवृद्धि कर (भ्याट) तेब्बर बनाएको छ ।
जुलाई १ देखि लागू हुनेगरी सरकारले ५ प्रतिशतबाट बढाएर भ्याट १५ प्रतिशतमा पुर्याएको छ । व्यापक खर्च कटौती उपायअन्तर्गत सरकारले जीवनयापन भत्ता पनि रोकेको छ ।
जुन १ देखि जीवनयापन भत्ता रोकिनेछ । भ्याट र पेट्रोलको भाउमा भएको वृद्धिको भार कम गर्न सरकारले सन् २०१८ देखि सरकारी कर्मचारीहरुलाई मासिक १ हजार रियाल (२६७ डलर) दिंदै आएको थियो ।
महामारीका कारण विश्वभर इन्धनको भाउ घटेसँगै सरकारको तेल विक्रीबाट हुने आम्दानी घटेको छ । तेलमाथिको निर्भरता कम गर्न साउदीले २ वर्ष अघि पहिलो पटक भ्याट लागू गरेको थियो ।
‘यी उपायहरु पीडादायक छ, तर मध्यमकालीनदेखि दीर्घकालीन अवधिमा वित्तीय र आर्थिक स्थायीत्व कायम गर्न र अभूतपूर्व कोरोना संकटलाई कमसेकम क्षतिसहित जित्न यो जरुरी छ ।’ अर्थमन्त्री मोहम्मद अल–अदानले एक विज्ञप्तिमा भने । यस वर्षको पहिलो ३ महीनामा साउदीलाई ९ अर्ब डलर बजेट घाटा भएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा सो अवधिमा तेल विक्रीबाट हुने आम्दानी एक चौथाईले घटेर ३४ अर्ब डलरमा आएको छ । समग्र आम्दानी भने २२ प्रतिशतले घटेको थियो । मार्चमा साउदीको विदेशी विनिमय सञ्चिति कम्तिमा २ दशकयताकै तीव्र दरमा घटेको बताइएको थियो ।
महामारीको प्रभावले गर्दा साउदी राजकुमार मोहमद बिन सलमानले शुरु गरेको आर्थिक सुधारका उपायहरुको गति र स्तर सुस्त बनाउने अपेक्षा गरिएको छ । एजेन्सी