काठमाडौं । सांसदहरुले भारतको मिचाहा व्यवहारको चर्को आलोचना गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले भारतको मिचाहा व्यवहारको चर्को आलोचना गरेका हुन्। सत्तारुढ नेकपाका खगराज अधिकारीले नेपाली भूमि बारम्बर विदेशी हस्तक्षेपको सिकार भएकामा सरकारको ध्यानाकर्षण गराए।
नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएकामा खेद व्यक्त गर्दै उनले यसविरुद्ध सबै नेपाली एक भएर लड्नुपर्ने बताएका हुन्।
नेकपाकै सांसद गणेशकुमार पहाडीले पनि भारतले अतिक्रमण गरेको भूमिमा नेपालको राजनीतिक र प्रशासनिक भूमिका हुनुपर्ने बताए। सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको पौलामा सशस्त्र प्रहरीको क्याम्प तत्काल राख्न माग गरेका छन्।
सांसद गङ्गा चौधरी सत्गौवाले नेपाली भूमि मिचिएकामा स्वाभिमानी नेपालीले सहन नसक्ने भन्दै भारतको यो व्यवहारविरुद्ध अन्तरराष्ट्रिय अदालतमा जानुपर्ने बताइन्।
सांसद घनश्याम खतिवडाले जङ्गे पिलरका नामबाट पटकपटक भारतले नेपाली भूमि अतिक्रमण गरेको र अर्को छिमेकी चीनले पनि यसमा उचित व्यवहार नगरेको बताए।
सांसद जिपछिरिङ लामाले भारतले ठूलो भाइको शैलीले जहिल्यै पनि नेपाललाई हेप्दै आएको उल्लेख गर्दै सरकार र नेतालाई भारतीय मिचाहापूर्ण व्यवहारबारे राज्यलाई थाहा हुनुपर्ने उल्लेख गरे।