दैलेख (महाबु) । प्राबिधिक स्टिमेट अनुसार काम नभएको भन्दै विवादित बनेको विद्यालय भवन निर्माणको काम लक डाउनको समयमा पनि निरन्तर भैरहेको पाइएको छ ।
तोकिएको प्राविधिक स्टिमेट अनुसार काम नभएको भन्दै महाबु गाउँपालिका ५ गडिगाउका स्थानियले निर्माण हुन लागेको पिपलडाँडा आधारभुत विद्यालय भवनको काम रोक्नका लागि गाउँपालिका कार्यालयमा उजुरी दिएका थिए ।
सोही उजुरी अनुसार गाउँपालिकाले गत फागुन २० गते नै काम रोक्न निर्देशन दिएको थियो ।
गाउँपालिकाको निर्देशन पछि रोकिएको निर्माण कार्य कोरोना भाईरसको कारण देश लक डाउन भैरहेको अवस्थामा काम सन्चालन भैरहेको पाइएको हो ।
गाउँपालिकाबाट उक्त कार्यको बारेमा उजुरिकर्तासंग छलफल गरि काम सुचारू गर्न भनिएको थियो तर छलफल नै नगरी काम सन्चालन भएको स्थानीयले बताए ।
निर्माण योजनाको जिम्मेवारी कर्ण बहादुर हमालको अध्यक्षतामा बनेको विद्यालय भवन निर्माण समितिले लिएको हो । हमाल सोही वडाका वडा अध्यक्ष जगत हमालका आफ्नै भाइ भएकोले स्थानीयले काम रोक्न उजुरी गर्दा समेत वास्ता नगरी पहुँचको भरमा काम सुचारु गरि अनियमितता गर्न खोजेको एक स्थानीयले आरोप लगाए।
गाउँपालिका मार्फत १६ लाख बजेटमा २ कोठे उक्त भवन निर्माण गर्न लागिएको हो ।