दैलेख (महाबु) । दैलेखको महाबु गाउपालिकामा कोरोना भाईरस (कोभिड-१९) सन्क्रमण विरुद्व सकृयता बढाएको छ । गाउपालिकाभित्रका सिमानाका र स्वास्थ्य सन्स्थाहरुमा हेल्थ डेस्क स्थापना गरिएको छ । घोडामच्चे, ताराघाट, जलजले र गिताचौर सिमानाकामा हेल्थ डेस्क स्थापना गरिएको छ भने स्वास्थ्य चौकी र सामुदायीक स्वास्थ्य ईकाईमा २४ घण्टे सेवा प्रदान गरिएको छ।
त्यस्तै गाउपालिकामा ५ बेडको आईसोलेसन वार्ड र प्रत्येक वडाका माध्यामिक विद्यालयहरुलाई क्वारेन्टाइनको लागि तयारी अवस्थामा रखिएको छ ।
गाउपालिकाभित्र अत्यावश्यक काम बाहेक एक वडाबाट अर्को वडामा आवत-जावत गर्न निशेध गरिएको छ । अत्यावश्यक काममा आवत जावत गर्न समेत वडा अध्यक्षको सिफारिस अनिवार्य गरिएको छ ।
मास्क र साबुन वितरण
गाउपालिकाले प्रत्येक गाउँ टोलमा एक व्यक्ति एक माक्स, एक घर एक सावुन वितरण गरेको छ । गाउपालिका अध्यक्ष, उपाध्यक्ष र स्वास्थ्यकर्मी सहितको टोलिले घर दैलोमै पुगि सामाग्री वितरण गरेको हो ।
गाउपालिकाबाट करिव २० हजार माक्स र ४ हजार सावुन वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख रमेश दसौदीले बताए ।
राहत वितरण तयारी
गाउपालिकामा खाद्यान्न अभावलाई मध्यनजर गर्दै राहत वितरण गर्ने तयारी गरिएको छ । समुदायका गरिब विपन्न परिवारको पहिचान गरि पहिलो चरणको राहत तत्कालै वितरण गरिने गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले बताए ।
‘प्रत्येक वडाबाट डाटा लिन लगाईएको छ । अबको केही दिनमै राहत वितरणको कार्यक्रम सुरु हुन्छ ।’ अध्यक्ष शाहीले भने ।
हाल खाद्यान्नका लागि ७ सय बोरा चामल गाउँपालिकामा स्टोर भैसकेको अध्यक्ष शाहीले जानकारी दिए । विपद कोषमा ५० लाख जम्मा गरिएको छ ।
लक डाउन पालना गर्न अनुरोध
महाबु गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले तोकिएको समयमा लक डाउनको पूर्ण पालना गर्न अनुरोध गरेका छन ।
अध्यक्ष शाहीले कोरोना भाईरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकोले जो जहाँ जुन अवस्थामा छ त्यही अवस्थामा सुरक्षित बस्न भन्दै लक डाउनको पूर्ण पालना गर्न सबैलाई अनुरोध गरेका हुन ।
उनले विपदलाई सबैले मिलेर सामना गर्नुपर्ने भन्दै नियम पालना गरि आफू र आफनो समुदायलाई हुन सक्ने सम्भावित जोखिमबाट जोगिनु पर्ने बताए ।
गाउँपालिकाका जनताका लागि सम्भावित खाद्यान्न अभावलाई मध्यनजर गर्दै उचित राहत व्यवस्थापन गरिएको अध्यक्ष शाहीले जानकरी दिए ।
उनले कोहि कसैलाई कोरोना भएको हुनसक्ने लक्षण देखा परे तुरून्तै नजिकको हेल्थ डेस्क वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत आग्रह गरे ।
गाउँपालिकामा स्थापित क्वारेन्टाइनहरुमा खाना बस्नको उचित व्यवस्थापन गरिएकोले गाउँपालिका बाहिरबाट आएको व्यक्तिले अनिवार्य १४ दिन बस्नुपर्ने उनको भनाई छ ।
५५५ जनाको स्वास्थ्य परिक्षण
गाउँपालिकामा रहेका सबै हेल्थ डेस्क र स्वास्थ्य संस्थाबाट ५ सय ५५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
तीमध्ये २ सय ७ जनामा सामन्य रुघाखोकीका बिरामी रहेको स्वास्थ शाखाका ईन्चार्ज रमेश दसौदिले जानकारी दिए ।
उनका अनुसार २९ जना भारतबाट आएका थिए भने उनिहरु गाउँपालिका प्रबेश गरेको १४ दिन पूरा भैसकेको छ ।