दैलेख । नेपाल कृषि प्राविधिक एसोशियशन (नाटा)को पालिकास्तरीय समिति गठन गरिएको छ । नाटाको कर्णाली प्रदेशमै पहिलो पालिका स्तरीय समिति दैलेखको महाबु गाउँपालिकामा गठन गरिएको हो । कृषि विषयमा अध्ययन गरिसकेका प्राविधिकहरुको समुहबाट पालिकास्तरीय कृषि अनुसन्धानका लागि उक्त समिति गठन गरिएको बताइएको छ ।
गाउँपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक बल बहादुर विष्टको संयोजकत्वमा उक्त समिति गठन भएको छ । समितिको उपा–संयोजकमा बसन्ती कुमारी शाही, सचिवमा अभिषेक पाण्डे र कोषाध्यक्षमा कल्पना पाण्डे रहेका छन् ।
त्यस्तै समितिको सदस्यमा पुस्पा शाही, हिम प्रसाद जैसी र सुरेश बडुवाल रहेका छन् ।
उक्त समिति गठन कार्यक्रमका प्रमुख अतिथि एवं नाटाका प्रदेश सह–सचिव राम बहादुर थापाले भौगोलिक विकटता, यातायात लगायतका स्रोत साधनका कारण पछी परेको कृषि क्षेत्रमा प्रविधीले टेवा पु¥याएको बताए । देशको अर्थतन्त्र धरासायीमा पर्नुको प्रमुख कारण कृषक आफै भएको उनको भनाई थियो । ‘हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले विउ वितरण गर्दछ’ उनले भने, ‘तर कृषकले सहि सदुपयोग नगरी खेर फाल्ने गर्छन् । यसले गर्दा कृषि अर्थतन्त्रको दोषी कृषक आफैं हो ।’
कृषि क्षेत्रमा आत्मनिर्भर बन्नका लागि विज्ञतासँगै उद्यमी बन्नुपर्ने उनको भनाइ थियो । उनले मानव मलमूत्रलाई समेत कृषिमा प्रयोग गर्न सके उत्पादनमा बृद्धि हुने बताए ।
कार्यक्रममा महाबु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लले कृषि र पशुपालनलाई व्यवसायिक गराउन सके समृद्धि टाढा नभएको भन्दै गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा विशेष प्राथमिकताका साथ समावेश गरिने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष रामकृष्ण गुरुङले पुरातन कृषिबाट समृद्धि ल्याउन नसकिने भन्दै नयाँ प्रविधिको प्रयोग गरी कृषि उत्पादनमा जोड दिनुपर्ने बताए ।
कृषि विषयमा अध्ययन गर्न रामपूर जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै गाउँपालिकाको वडा नम्बर २ मै अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न सफल भएको उनको भनाई थियो ।
कार्यक्रमका अध्यक्ष एवंम नाटाका जिल्ला अध्यक्ष खेमराज शर्माले कृषिलाई व्यवसायिक उत्पादनतर्फ नवनिर्वाचित पदाधिकारीहरुले टेवा पु¥याउने विश्वास व्यक्त गरे ।