दैलेख । दैलेख सदरमुकाममा भारतीय प्रहरी पोसाकसहित खुलेआम डुलिरहेका छन् । बजारमा भारतीय प्रहरी खुलेआम पोसाकसहित हिँडेको देखेपछि स्थानीयले विरोध गरेपछि प्रहरीले खोजी गरेको हो ।
भारतीय प्रहरी स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिइ दैलेख आएको पाइएको छ । भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आइपुगेको हो ।
भारतको हरियाणा प्रदेश यमुनानगर जिल्लाबाट तीन जना प्रहरीसहितको चार जना टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले बताए । भारतमा काम गर्दै आएका दैलेखका एक युवकले झण्डै ५० लाख रुपैयाँ चोरी गरी फरार भएपछि ती युवकको खोजी गर्न दैलेख आएको उनीहरुको भनाइ छ ।