सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई जनताको विश्वविद्यालय बनाउने बताएका छन् । जनताकै आन्दोलनको बलमा विश्वविद्यालय स्थापना भएको स्मरण गर्दै सिंहले जनताको लगानी जुटाउँदै जनताकै विश्वविद्यालय बनाउने प्रतिबद्धता जनाएका हुन । बिहीबार पदभार ग्रहण गर्दै सिंहले भने ‘यो जनताको आन्दोलनबाट स्थापना भएको विश्वविद्यालय हो, यसलाई जनताकै विश्वविद्यालय बनाउनुपर्छ’, उनले भने ‘जनताका छोराछोरी बढ्ने विश्वविद्यालयमा सरकारको बजेट र अनुदानमात्र नभई जनताको लगानी जुटाउनु आवश्यक छ ।’
कर्णालीको गरिव र भोकमरीको समस्यालाई अन्त्य गर्नेगरी विश्वविद्यालयले जनशक्ति उत्पादन गर्नुपर्ने उनको भनाई थियो । कर्णाली जडिबुटीको भण्डार भएको उल्लेख गर्दै उनले विश्वविद्यालयले मेडिकल कलेज स्थापना गरेर यसको लाभ लिन सक्ने बताए । एक अर्काे प्रशंगमा उपकुलपतिले काम नगर्ने तर विल मिलाएर भ्रष्टचारी मानसिकताका कर्मचारी विश्वविद्यालयलाई स्विकार्य नहुने तर्क गरे । भ्रर्खर बामे सर्न लागेको विश्वविद्यालयलाई थप उचाईमा पु¥याउन सबैपक्षसँग सहकार्य गर्ने धारणा राखे । चार वर्षे कार्यकालमा विश्वविद्यालयलाई छोरा जस्तै गरी उर्काउने उपकुलपतिको प्रतिबद्दता थियो ।
पदभार कार्यक्रममा विश्वविद्यालयका डिन प्राध्यापक डा. यामबहादुर कार्की, विभिन्न संकायका डिन, निर्देशक, प्राध्यापक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । उपकुलपति रित्त भएको करिव ६ महिनापछि विश्वविद्यालयले उपकुलपति पाएको हो । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले (फागुन १९ गते) नियुक्त गरेका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले आज पदभार ग्रहण गरेका छन् । यसअघि गत असोज ६ गते तत्कालिन उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको कार्यअवधि सकिएको थियो । त्यसयता विश्वविद्यालयमा उपकुलपति नियुक्त हुन सकेको थिएन ।
तर सरकारले अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि विश्वविद्यालयकै व्यवस्थापन संकायका डीन डा.मस्तबहादुर गरंजालाई निमित्त उपकुलपतिको रुपमा नियुक्त गरेको थियो । उपकुलपति नहुँदा विश्वविद्यालय निमित्तको भरमा सञ्चालन हुँदै आएको थियो । लामो प्रयासपछि कालिकोट स्थायी घरभएका सिंहलाई उपकुलपतिमा नियुक्त गरिएको हो । करिव २५ वर्ष त्रिभुवन विश्वविद्यालयको प्राध्यापक रहेका सिंहले टोकियो विश्वविद्यालयबाट सन् २००२ मा पीएचडी गरेका छन् । उनी उपकुलपति नेकपा (पूर्वएमाले) निकट हुन् । डा.उषा झा नेतृत्वको सर्च कमिटीले केही महिना अगाडि प्रधानमन्त्रीलाई विश्वविद्यालयको उपकुलपतिका लागि गरेको सिफारिशका आधारमा सिंह उपकुलपति नियुक्त भएका हुन् । को हुन् सिंह ? एमयूका नवनियुक्त उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंह कालिकोटको डिल्लीकोट निवासी हुन् । स्वर्गीय आमा लालशोभा र शेरबहादुर सिंहको आठौं (कान्छो) सन्तानका रुपमा सिंहको २०२२ असार १ गते जन्म भएको हो । उनले डिल्लीकोटमै कक्षा ७ सम्मको अध्ययनपछि एसएलसीसम्मको अध्ययन दैलेखबाट पुरा गरेका हुन् ।
२०३८ सालमा एसएलसी उत्तिर्णपछि त्रिभूवन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्दै सन् २००२ मा जापानको टोकियो विश्वविद्यालयबाट पीएचडी गरेका छन् । माध्यमिक तहमा संधै प्रथम हुने सिंहले उच्च शिक्षा अध्ययन गर्दा त्रिभूवन विश्वविद्यालयबाट २०५१ मा गोल्डमेडलिस्टसमेत बनेका थिए । २५ वर्षदेखि भित्रूवन विश्वविद्यालयमा प्राध्यापक, सह–प्राध्यापक हुँदै बरिष्ठ प्राध्यापकका रुपमा कार्यरत थिए । यस्ता छन् नवनियुक्त उपकुलपतिका चुनौती मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा यसअघि तीन जना उपकुलपतिले काम गरिसकेका छन् । स्थापना कालमा पदमलाल देवकोटा, त्यसपछि कालिप्रसाद पाण्डे र उपेन्द्रकुमार कोइरालाले विश्वविद्यालयको नेतृत्व गरेका थिए । यद्यपी उनीहरुको कार्यकालमा विश्वविद्यालयले गति लिन नसकेको आलोचकहरु बताउँछन् । तीन जनाकै कार्यकाल विवादकाबीच गुज्रिएको थियो । यसैबीच चौथो उपकुलपतिकाको रुपमा सिंहले जिम्मेवारी पाएका छन् ।
नवनियुक्त उपकुलपतिका सामु थुप्रै चुनौती छन् । उनले ती चुनौतीको सामना गर्दै विश्वविद्यालयलाई गति दिनुपर्ने अवस्था छ । हाल सुर्खेतमा मात्र सिमित जस्तो देखिएको यो विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयको रुपमा विकास गर्नुपर्ने मुख्य चुनौती छ । किनकी ‘उच्च शिक्षा ऐन २०७६’ को मस्यौदाले प्रदेशमा रहेका विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउनुपर्ने उल्लेख छ । ऐनले (एमयू)लाई प्रदेश सरकार राख्नुपर्ने भनेर स्पष्ट उल्लेख गरेको छ । ऐन कार्यान्वयन भएको खण्डमा (एमयू) कर्णाली प्रदेश सरकार मातहतमा आउनेछ । एमयू प्रदेश मातहतमा आए कर्णालीको शिक्षा क्षेत्रमा केन्द्र सरकारको लगानी घट्ने छ । यद्यपी एमयूमा कार्यरत शिक्षक तथा कर्मचारीले भने विश्वविद्यायको क्षेत्र र जनशक्तिका हिसावले त्रिभूवन विश्वविद्यालयपछिको नेपालको दोस्रो ठूलो विश्वविद्यालय भएको भन्दै संघीय सरकारको मातहतमा रहुनुपर्ने बताउँदै आएका छन् । जसका कारण एमयूलाई संघीय सरकार मातहतमा नै राख्न सक्नु उपकुलपतिका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ । यस्तै विश्वविद्यालय आङ्गीक क्याम्पस र कर्मचारी व्यवस्थापन अर्काे ठूलो चुनौती हो ।
स्थापनाको नौं वर्षमा दश वटा आङ्गीक क्याम्पस रहेको एमयूमा अधिकांश कर्मचारीहरु अस्थायी पदमा कार्यरत छन् । आङ्गीक क्याम्पसमा कार्यरत जनशक्तिमध्ये झण्डै ६० प्रतिशत अस्थायी छन् । अस्थायी कर्मचारीलाई स्थायी प्रक्रियामा लिंदै शिक्षालाई थप गुणस्तरिय कायम गर्नु उपकुलपतिका लागि अर्काे चुनौती छ । झण्डै पाँच हजार विद्यार्थी रहेका विश्वविद्यालयमा अस्थायी, स्थायी र करार गरी तीन सय ३४ प्राध्यापकहरु कार्यरत छन् । केन्द्रीय र आंगिक क्याम्पसमा गरी एक सय ८३ जना विभिन्न तहका कर्मचारीहरु कार्यरत छन् । विश्वविद्यालय स्थापना भएको दशौं वर्ष प्रवेश गर्दा पनि दुईपटक मात्रै सेवा आयोगबाट कर्मचारी नियुक्ती भएका छन् । जसलेगर्दा लामो समयदेखि कार्यरत अधिकांश कर्मचारीलाई अस्यायी पदमा कार्यरत छन् ।
यस्तै आर्थिक व्यवस्थापन पनि उपकुलपतिको लागि अर्काे चुनौती छ । किनकी लामो समयदेखि विश्वविद्यालय भाडाकै भवनमा सञ्चालन हुँदै आएको छ । नौं वर्षसम्म पर्याप्त भवनहरु बन्न नसक्दा भाडाकै भवनमा अध्ययन÷अध्यापनको हुँदै आएको छ । त्यस्तै भर्खर अध्ययापन सुरु भएका आङ्गीक क्याम्पसको भौतिक संरचना निर्माणमा लाग्ने आर्थिक व्यवस्थापन गर्नु उत्तिकै चुनौती छ । व्यवस्थापन संकायमा पीएचडी र स्नातक तहमा कृषि तथा वन विज्ञान विषयको अध्यापन सुरु गराउन सक्नु भने उनका लागि अवसर हुनेछ ।