सुर्खेत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि फैलिन सक्ने आशंकामा देशभर पूर्वतयारी गरिएको छ । सोही अनुसार कर्णाली प्रदेश सरकारले पनि पूर्वतयारी गरिएको जनाएको छ ।
विहिबार पत्रकारहरुसँग कुराकानी गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कोरोना भाईरसविरुद्व सरकारले पूर्वतयारी गरिसकेको बताउदै कर्णालीवासी नागरिकलाई आपत्ति मान्नुपर्ने अवस्था नभएको बताए ।
‘कोरोना भाइरसको डरमा हामी बस्नुपर्दैन, प्रदेश सरकार पूर्वतयारीमा जुटी सकेको छ’ मन्त्री रावलले भने, ‘नआत्तिनुहोस् तर यसबाट जोगिन सचेत हुनका लागि आग्रह गर्दछु ।’
मन्त्री रावलले प्रदेश सरकारद्वारा कोरोना नियन्त्रण निर्देशक समिति गठन गरिसकिएको भन्दै सचेतनामूलक सामाग्रीहरुद्वारा प्रचार–प्रसार गर्न लागिएको जानकारी दिए ।
कर्णाली प्रदेशका विभिन्न नाकाहरुमा चिकित्सक सहितको टोली रहेको हेल्प डेस्कको स्थापना गरिएको मन्त्री रावलले बताए । ‘सुर्खेतस्थित विमानस्थलमा आज (बिहिबार) विहान मात्रै हेल्प डेस्कमा मुख्यमन्त्रीको स्वास्थ्य परिक्षण गरी उद्घाटन गरिएको छ ।’ मन्त्री रावलले भने, ‘कोरोना नियन्त्रणको लागि आवश्यक औजार, विशेष कोषको व्यवस्था गरिएको छ भने प्रदेश अस्पतालमा ५ वटा वेड र संक्रमित विरामीलाई राख्ने क्वारेन्टाईनको समेत व्यवस्था गरिएको छ ।’
मन्त्री रावलले कर्णालीका प्रत्येक जिल्ला स्वास्थ्य कार्यालयमा संक्रमित विरामीका लागि छुट्टै वेडको व्यवस्था मिलाउन निर्देशन गरिसकिएको बताए ।
साथै मन्त्री रावलले मन्त्रीपरिषद्को निर्णयबाट प्रदेशमा कार्यरत स्वास्थ्यकर्मी कोहीपनि विदा नबस्न निर्देशन दिइसकेको बताउँदै विरामीको उद्दारका लागि एम्बुलेन्स, हवाई सेवा लगायतका अन्य आवश्यक खर्च व्यवस्थापनको लागि विशेष कोषको व्यवस्था गरिएको जानकारी दिए । उनले कुनैपनि स्थानमा सभा, समारोह तथा जमघटका क्रियाकलाप नगर्न समेत सबैलाई आग्रह गरे ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले कोरोना भाईरसबाट हुनसक्ने सम्भावित खतराको नगरपालिकाले पूर्वतयारी गरेको जानकारी दिइन् । ‘बुधबारदेखि दादुरा, रुवेला सम्बन्धी जानकारीका साथै कोरोना भाइरसको पनि सचेतना जोगाउने कार्य भईरहेको छ ।’ उपप्रमुख ढकालले भनिन्, ‘सरोकारवालासँगको समन्वयमा वडाका टोल–टोलमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिने छ ।’
यो रोगबारे सिमा नाकामा मात्र नभई स्वास्थ्य चौकीहरुमा सर्तकता अपाउनुपर्ने भन्दै नगरका सबै स्वास्थ्य चौकीमा आवश्यक उपकरणको अवस्थाबारे अनुगमन गर्न लागिएको जानकारी दिईन् ।
कोरोना भाईरसबारे नागरिकले डराउनुपर्ने अवस्था नभएको प्रदेश अस्पतालमा कार्यरत डाक्टर नवराज केसीले बताएका छन् । उनले यो रोगबाट ८८ प्रतिसत मानिसहरु बाच्न सक्ने सम्भावना रहेकोले यसबाट डराउनुपर्ने अवस्था नभएको बताएका हुन् ।
‘यो महामारी कर्णालीमा देखिए समाधान गर्न सकिन्छ’ डाक्टर केसीले भने, ‘यसको उपचार भन्दापनि फैलिन नदिने व्यवस्था गर्नुपर्छ ।’
कोरोना भाईरसको संक्रमण फैलिने क्षमता बढि भएकोले संक्रमित विरामीलाई छुट्टै स्थानमा राखी उपचार गरेमा बाच्न सकिने बताइएको छ ।
सन् २०१९ मा चीनमा धेरै मानिसहरुलाई निमोनिया भएपछि भेटिएको संक्रमण क्राउन आकारको भएकोले कोरोना भनि नामाकरण गरिएको डाक्टर केसीले बताए ।
‘यो महामारी पहिलो होइन तर अन्तिम पनि होइन्, कोरोना जनावरबाट मानिस फैलिएको हो’ डाक्टर केसीले भने, ‘यसको उपचार छैन, ज्वरो आउदा सिटामोल र पानी बढिमात्रामा खानुनै यसको रोकथामको उपाय हो ।’
डाक्टर केसीले कर्णालीमा कोरोना भन्दा पनि अन्य ठूला महामारीसँग कर्णालीवासी लड्नुपरेको बताए । सरकारले ठूला अस्पताल बनाउने सोच बनाउनुभन्दा पनि सञ्चालनमा आएका स्वास्थ्य चौकीमै सेवा सुविधा उपलब्ध हुन सक्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ । ‘एउटा स्वास्थ्य चौकीले ८० प्रतिसत रोगका विरामी त्यही रोक्नसक्नुपर्छ’ डाक्टर केसीले भने, ‘देशको स्वास्थ्य प्रणाली नयाँ तरिकाले फेर्नुपर्ने देखिन्छ ।’
कोरोना भाईरसको कारण कर्णालीका लागि चुनौती र अवसर दुईवटै प्राप्त भएको उनको भनाई छ । ‘मान्छेमा पहिलो पटक यो रोग देखिनु चुनौती हो भने, स्वास्थ्य प्रणालीमा सुधार गर्नुपर्ने अवस्था सिर्जना हुनु अवसर हो’ डाक्टर केसीले भने ।
कोरोनाबाट संक्रमित व्यक्तिले बाहेक अन्य साधारण व्यक्तिले माक्सको प्रयोग गर्नु नपर्ने डाक्टर केसीको भनाई छ । ‘संक्रमित र उपचारमा संलग्न व्यक्तिले बाहेक अरुले माक्स लगाउनु पर्दैन ।’ डाक्टर केसीले भने, ‘जोकोहीले धेरै समयसम्म माक्स लगाउँदा झन थप रोगी भईन्छ, बजारमा पनि माक्स सटेज हुनसक्छ ।’